कांग्रेसले फेरि अरुलाई दिन्छ त सुशील कोइरालाको क्षेत्र ?

 

नेपालगञ्ज – चुनावको मिति घोषणापछि बाँकेमा चुनावी माहौल तातिदै गएको छ । उम्मेदवार आकांक्षीको काठमाडौं दौडधुप शुरु भइसकेको छ ।

सरकारमा रहेका दलहरुका बीचमा गठबन्धन हुने तय भएको छ । गठबन्धनले गर्दा उम्मेदवार आकांक्षीको ढुकढुकी बढ्दो छ । पार्टीबाट टिकट पाउने संभावना भएकाहरु पनि गठबन्धनका नाममा क्षेत्र नै अर्को पार्टीलाई प¥यो भने के होला भन्नेमा छन् ।

बाँकेमा क्षेत्र नं. २ अर्थात नेपालगञ्ज क्षेत्र समेटिएको पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्रमा यसपाली पनि गठबन्धनका नाममा केन्द्रले निर्णय लादेर अर्को पार्टीलाई त टिकट दिइदैन भन्नेमा जिल्लाका कांग्रेसजन डराएका छन् । जिल्लाका नेताहरु सकेसम्म बाँकेमा कसैसँग गठबन्धन नगर्ने र गठबन्धन गरेपनि क्षेत्र नं. २ नछोड्ने अडानमा छन् । क्षेत्र नं. २ छोड्दा स्व. सुशील कोइरालाको त्याग, तपस्या नामेट हुने उनीहरुको विश्वास छ ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ कांग्रेसले राप्रपालाई छोड्यो । कांग्रेसका ठूलो पंक्ति रिसाए । नतिजा राम्रो आएन । यसपटक कुनै पनि हालतमा गठबन्धनको नाममा क्षेत्र नं. २ छोड्न नहुनेमा जिल्लाका सबैजसो नेता लागि परेका छन् ।

क्षेत्र नं. २ बाट चुनाव जितेका जसपाका नेता मो. इस्तियाक राई देउवा सरकारमा मन्त्री छन् । गठबन्धन हुँदा क्षेत्र नं. २ राईलाई पर्न सक्छ । यसो हुन नदिन कांग्रेसका नेताहरु काठमाडौं धाइरहेका छन् ।

कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले बाँकेमा गठबन्धन नगरौं भन्नेमा कांग्रेस लागिपरेको बताउनुभयो । ‘हामी बाँकेमा गठबन्धन नगरौं भन्नेमा छौं । केन्द्रीय निर्णय के आउँछ हेर्दैछौं, प्रवक्ता गिरीले भन्नुभयो, बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्न सक्छ ।’

स्थानीय तहको मतभारले गर्दा कांग्रेस बाँकेमा एक्लै चुनाव लड्न तम्सिएको छ । बाँकेको आठ वटामध्ये ६ वटा पालिकामा चुनाव जितेको कांग्रेस संघ र प्रदेशमा पनि अगाडि हुन्छौं भन्नेमा ढुक्क रहेको छ । कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन गरेर चुनाव जित्दा कोहलपुर नगरपालिका, जानकी, डुडुवा, राप्तीसोनारी गाउँपालिकामा एक्लै चुनाव जितेको थियो ।

क्षेत्र नं. २ मा जसपाका राईले चुनाव लड्ने भनिसक्दा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा पनि चुनावी मैदानमा आइसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर डा. राणाको मो. राईसँग कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसले आफै उम्मेदवार उठाउँछ कि गठबन्धन दललाई छोड्छ भन्नेमा अझै यकिन भइसकेको छैन । कांग्रेसका पूर्वमन्त्री गजेन्द्र हमाल, पूर्व जिल्ला सभापति किरण कोइराला, निरञ्जन सिजापतिहरु क्षेत्र नं. २ बाट चुनाव लड्न तम्सिएका छन् ।

क्षेत्र नं. २ मा एमालेले कसलाई उठाउँछ अहिलेसम्म आकलन गर्न सकिएको छैन । गठबन्धन गरेर अगाडि बढिन्छ कि आफै चुनाव लडिन्छ भन्नेमा एमाले अन्यौलमा छ ।

अन्य निर्वाचन क्षेत्रमा सबै पार्टीका उम्मेदवार आकांक्षी प्रष्ट देखिएका छन् । क्षेत्र नं. १ मा कांग्रेसबाट जिल्ला सभापति नारायण गौडेल, पोषण केसी, एमालेबाट सूर्य ढकाल, माओवादीबाट महेश्वर गहतराज, क्षेत्र नं. २ मा कांग्रेसबाट बादशाह कुर्मी, लक्ष्मीनारायण शाह, मेघराज वली, एमालेबाट जिल्ला अध्यक्ष किस्मत कक्षपति, रत्न खत्री, भीम वलीको नाम अगाडि देखिन्छ ।

सत्तासीन दलहरुका बीचमा गठबन्धन हुँदा क्षेत्र नं. १ मा माओवादी, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ मा कांग्रेसलाई भाग पर्ने देखिन्छ । जितेकै क्षेत्र बाँड्दा पनि क्षेत्र नं. १ मा तत्कालिन नेकपाबाट माओवादीका महेश्वर गहतराज, क्षेत्र नं. २ मा मो. राई र क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकायले चुनाव जितेका थिए । दुई वटा निर्वाचन क्षेत्रमा गठबन्धनभित्रकै पार्टीले चुनाव जितेकाले एमालेले जितेको ठाउँ कांग्रेसलाई जाने देखिन्छ ।

बाँकेमा कसको कहाँ, कोसँग गठबन्धन हुन्छ हेर्द बाँकी नै छ । जसको जोसँग गठबन्धन भएपनि घात र अन्तर्घातको श्रृखंला रोकिने स्थिति देखिदैन ।


error: यो सुविधा उपलब्ध छैन !