कोहलपुर लागु औषधको अर्को अखडा, समातिदै कारोबारी

नेपालगञ्ज – बाँकेको कोहलपुरलाई लागु औषधीको अर्को अखडाको रुपमा लिने गरिएको छ । नेपालगञ्जदेखि १६ किलोमिटर उत्तरमा रहेको बाँके जिल्लाको दोस्रो ठूलो बजार कोहलपुरमा पछिल्ला दिनमा लागु औषधीको मुद्दा बढी आएको छ ।

कोहलपुरलाई बाँकेको चोक बजार मान्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरबाट उत्तरमा रत्न राजमार्ग (सुर्खेत) र दक्षिणमा नेपालगञ्ज बजार पर्दछ । नेपालगञ्जसँग सीमा जोडिएको भारतको रुपैडिहा बजारमा सहज रुपमा पाउने लागु औषधी नेपालगञ्ज हुँदै कोहलपुरमा पुग्ने गर्दछ । कोहलपुरबाट पूर्व, पश्चिम, दक्षिण जान सकिन्छ ।

नेपालगञ्जमा प्रहरीले कडाई गर्दा कारोबारी कोहलपुर सर्ने गर्दछन् । नेपालका ठूला शहरमा लागु औषधी सप्लाई गर्ने नेपालगञ्जबाट कोहलपुर बाटोमा पर्दछ । नेपालगञ्जमा हुन नसकेका ‘डिल’ या हस्तान्तरण कोहलपुरमा हुने गर्दछ ।

तत्कालिन माओवादीको हिंसात्मक सशस्त्र द्वन्द्व चरमसीमामा पुगेको २०५८-५९ तिर कोहलपुर बाक्लिएको थियो । माओवादीबाट बच्न पहाडी जिल्लाका मानिस कोहलपुर झरेका थिए । यद्यपि, कोहलपुर पुरानोमध्येकै बजार हो ।

पछिल्लो दिनमा कोहलपुरमा आफै सेवन गर्नेसँगै विभिन्न जिल्लामा सप्लाई गर्ने कारोबारीको बसोबास भएको पाइन्छ । प्रहरीले पक्राउ गरेको कारोबारी या छिमेकी जिल्लामा ओसारपसार गर्नेको तथ्यांकले कोहलपुर लागु औषधीको अखडा बन्दै गएको देखाउँछ ।

कोहलपुरमा नेपालका धेरै जिल्लाबाट आएका मानिसको बसोबास रहेको छ । चारैतिर जान सकिने चौराहा भएकाले पनि यो लागु औषधीको अखडा बन्ने गरेको छ । पहाडी जिल्लामा उत्पादन हुने चरेश, गाजा, अफिम शुरुमा कोहलपुरमै आइपुग्छ । कोहलपुरमा बनेको योजना अनुसार बाँके या अन्य जिल्लाको नाकाबाट भारत प्रवेश गराइन्छ । संरक्षित जनावरका अंग पनि पहाडबाट कोहलपुरमा ल्याइ पु¥याइन्छ । पहाडी जिल्लाबाट ल्याउने अवैध ‘माल’ कोहलपुरमा ल्याएर अन्यत्र लगिन्छ भने भारतबाट अन्यत्र जाने माल पनि कोहलपुर हुँदै जाने गर्दछ ।

लागु औषध प्रयोगकर्ता, कारोबारी र विभिन्न अपराध गरेर पूर्वपश्चिम, उत्तरबाट भागेर आएका व्यक्तिको लुक्ने ठाउँ पनि कोहलपुर हुने गरेको छ । कतिसम्म भने सुर्खेतका एक हुल युवा चोरी गरेर पेट पाल्ने भन्दै कोहलपुरमा आएर डेरामा बसेर चोरीकर्म गरेको फेला परेको थियो ।

पछिल्लो दिनमा कोहलपुरवासीको जनगुनासो नै लागु औषधी नियन्त्रणमा हुने गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले बोलाएका छलफलहरुमा कोहलपुरवासीले लागु औषधी नियन्त्रणका लागि दबाब, आग्रह र गुनासो गर्ने गर्दछन् ।

पछिल्लो चार महिनामा प्रहरीले जनताको गुनासोलाई प्राथमिकतामा राखेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले लागु औषधी नियन्त्रणमा धेरै गुनासो आएपछि प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो । प्रहरीले यो बीचमा २४ जनालाई लागु औषधीसहित पक्राउ गरेको छ । डीएसपी मल्लका अनुसार, एक सय चार ग्राम ९ सय ८२ मिलिग्राम ब्राउनसुगरसहित १४ जना, तीन किलो ८ सय ग्राम अफिमसहित एक जना, ३९ ट्याब्लेट नाइट्राभेटसहित एक जना र तीन किलो ७ सय ५० ग्राम गाजासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तीन जना महिला छन् । प्रहरीले यी घटनामा १७ वटा मुद्दा दर्ता गरेको छ ।

सीमावर्ती जिल्ला भएकाले बाँके लागु औषधीको कारोबार गर्ने ठाउँ मानिन्छ । उदाउदो शहर कोहलपुर यसबाट अछुतो रहन सकेको छैन । खुल्ला नाका भएकाले कोहलपुरसम्म सहजै लागु औषधी पुग्ने गरेको पाइन्छ । मुख्य नाकामा लागु औषध नियन्त्रण ब्यूरोको टोली दिनरात खटिएको हुन्छ । त्योसँगै प्रहरीको उपस्थिति रहेको छ । त्यसका बाबजुद कारोबारीले कोहलपुरसम्म माल पु¥याएर अन्यत्र सप्लाई गरिरहेका छन् । लागु औषधीको प्रयोग र कारोबार बढ्दा शहरमा चोरीदेखि जघन्य अपराधका घटना हुने गर्दछन् । कोहलपुरलाई लागु औषधीको केन्द्रबाट बचाउनका लागि प्रहरीसँगै नागरिक समाजका अगुवा अगाडि आउन जरुरी देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !