५० हजारमा दम्पति मारेका राजन र सकिल हतियारसहित पक्राउ
नेपालगञ्ज – कोहलपुर नगरपालिका वडा नं. १४, ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगञ्जकै दुई युवाले हत्या गरेको खुलेको छ ।
दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का सकिल अलि शेषले कृष्ण र अञ्जलीको हत्या गरेको खुलेको हो ।
हत्या आरोपी राजन र सकिल राती हतियारसहित पक्राउ परेका छन् । कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित राजन र सकिल पक्राउ परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । विजय र रेखाले ५० हजार रुपैया दिएर राजन र सकिलमार्फत भाई कृष्ण र बुहारी अञ्जलीको हत्या गराएको स्वीकारेका छन् । विजय र रेखाले शुरुमा भारतीय सुटरलाई एक लाख रुपैया दिएर सुपारी दिएपनि उनीहरुले धोका दिएपछि नेपालगञ्जकै राजन र सकिलमार्फत हत्या गराएको बताएका छन् ।
घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई राजन र सकिलले एक गोली पड्काएर तर्साएर उनीहरुलाई घाँटी थिचेर हत्या गरिएको थियो । राजन र सकिले हत्या गरेर निस्केपछि विजय र रेखाले भाई कृष्णको नाडी काट्नुका साथै बुहारी अञ्जलीको घाँटीमा डोरी राखिदिएका थिए । प्रहरीले अझै केही कुरा बाँझिएकाले अनुसन्धान भइरहेको बताएको छ । दाई र भाईको मनमुटाव र सम्पति पनि हत्यामा जोडिएको छ ।