एकछिनको पानीले डुब्छ सेतुविक चोक !
नेपालगञ्ज – नेपालगञ्जमा एकछिन पानी पर्ने वित्तिकै सेतुविक चोक आसपासमा डुवान हुन्छ । नेपालगञ्जवासीले अलिकति ठूलो पानी प¥यो कि सेतुविक चोकको हालत के भयो होला भन्न थाल्छन् ।
सेतुविक चोक समेटिएको न्यूरोड नेपालगञ्जको पछिल्लो व्यवस्थित शहर हो । यही व्यवस्थित शहर पानी पर्ने वित्तिकै डुबिहाल्छ ।
आखिर किन ? जानकारहरु भन्छन्, न्यूरोडमा ढलको उचित निकास गरिएन । सडकको दुवैतर्फ एकैमोडेलका घरहरु बनाइएका न्यूरोडमा ढलको निकास किन गरिएन ? न त त्यहाँ पार्किङकै व्यवस्था रहेको छ ।
पानी पर्ने वित्तिकै डुब्ने भएपछि स्थानीयले नालीको विस्तारका लागि आन्दोलन नै गरेका थिए । एशियाली विकास बैंक (एडीबी) ले न्यूरोडबाट बागेश्वरी मन्दिर हुँदै आउने नालीका लागि बजेट दिएको थियो । त्यसको राम्ररी सदुपयोग नभएको स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठको भनाई छ । एडीबीले नालीको दुवैतिर पक्की वाल लगाउन भनेको थियो । जनप्रतिनिधिले केही ठाउँमा दुवैतिर पक्की वाल बनाए । केही ठाउँमा पर्दैन भनेर छोडिदिए । त्यसकै प्रतिफल जहिले पनि न्यूरोड डुवानमा पर्छ, श्रेष्ठको आक्रोश छ, यहाँको नालीको पैसा अन्यत्र लगियो ।
न्यूरोड भएर आउने मुख्य नाली कहिले अग्लो त कतै होचो छ । जसले पानी एकनासले बग्दैन । त्यसमा अहिले लामो समयदेखि खडेरी रहेकाले नाली सफा गरिएको थिएन । नाली बुझिदा विहान पानी परेको एक घण्टामै न्यूरोड डुबेको थियो ।
हुन त, विहान ठूलो पानी परेको थियो । न्यूरोडमात्रै होइन, गणेशपुर, धम्बोझी, बेलासपुर, इदगाहरोड, वीपीचोक आसपासमा पानी जमेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले पानीको निकासका लागि न्यूरोड, वीपीचोक आसपासमा जेसीभी लगाएर नाली खुलाएको थियो ।
लामो समयपछि पानी पर्दा किसान भने खुशी भएका छन् । असार सकिदासम्म ४६ प्रतिशतमात्रै रोपाई भएको बाँकेमा यो पानीले रोपाई बढ्ने भएको छ ।