असार सकिदा ४६ प्रतिशतमात्रै रोपाई, रोपेको पनि सुक्यो

नेपालगञ्ज – बाँकेमा असार सकिदा ४६ प्रतिशतमात्रै रोपाई भएको छ । लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुकेका छन् ।

मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताए । कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाई गरेका छन् । बाँकेमा ठूलो भूभाग आकाशे पानीको घरमा खेती गरिन्छ ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले साउनको ३ गतेसम्म आइपुग्दा मुश्किलले ४६ प्रतिशत रोपाई भएको बताउनुभयो । ‘धेरै किसानले रोप्न पाएका छैनन् । पानी नपरेकाले यो वर्ष खडेरी लाग्ने संभावना बढ्यो, ढकालले भन्नुभयो, असारमा राखेको बिउ बुढो भइसकेको छ । अब पानी पर्दा रोपाई त हुन्छ । उत्पादन घट्छ ।’

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रति कठ्ठा उत्पादन डेढ क्वीन्टल हाराहारीमा छ । यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चितजस्तै भएको छ ।

बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परेपनि रोपाई नै हुने गरी पानी परेको छैन ।
बल्ल बल्ल रोपाई भएको धान सुकेको छ । खेतमा धाँजा फाँटेको छ । गौरवको आयोजना सिक्टाको काम लम्बिदै जादा बाँकेका किसानको दुःख पाइरहेका छन् ।

यता मौसम विभागले पानी पर्छ भनिरहेको छ । पानी परेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !