जन्म दिनको पाटी खाएर निस्केका चार जनाले कुट्दा युवकको मृत्यु
नेपालगञ्ज – बाँकेको बैजनाथमा एक युवकको कुटेर हत्या गरिएको छ ।
स्थानीय चार जनाले बैजनाथ गाउँपालिका वडा नं. ४ का मिलन भन्ने दिक्षित खड्कालाई कुटेर हत्या गरेका हुन् ।
वडा नं. ३ बस्ने पदम सुनारको जन्म दिन पाटीमा सहभागी भएर निस्केका सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापामगर र गोविन्द विकले कुटपिट गर्दा खड्काको ज्यान गएको हो । जन्म दिनको पाटीबाट खानपिन गरेर निस्केका चार जनासँग चिसानीबाट कोहलपुरतर्फ पैदल आउदै गरेका खड्काको भेट भएको थियो । खड्काले उनीहरुलाई बसपार्क जाने बाटो सोधेपछि विवाद शुरु भएको थियो । वादविवादको अवस्थामा खड्कालाई भुईमा लडाएर लाठीले हानेका थिए । कुटपिटबाट सख्त घाइते भएका खड्कालाई घटनास्थलबाट बोकी सडकको बीच भागमा छोडेर घरतर्फ लागेका थिए ।
घाइते खड्कालाई उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो । काठमाडौंको बीर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरले चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटना १३ गते विहान २ बजेको थियो ।