एक अर्ब ६३ करोड ६५ लाख नेपालगञ्जको बजेट

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि एक अर्ब ६३ करोड ६५ लाखको बजेट ल्याएको छ ।

बिहीबार आयोजित ११ औं नगर सभामा उपमेयर कमरुद्दिन राईले एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७-७८ मा उपमहानगरपालिकाको आन्तरिक राजश्वतर्फ १७ करोड ४१ लख १० हजार आय अनुमान गरिएकोमा कोरोनाका कारण राजश्व क्षमतामा कमी आई १४ करोड एक लाख ५० हजार ५ सय ७ रुपैया ५८ पैसा असुल भई करिव ८१ प्रतिशत लक्ष्य हासिल भएको थियो । यस आवका लागि अनुमानित १४ करोड ७ लाख रुपैया मात्र भएकोमा हालसम्म १३ करोड ४० लाख ५३ हजार ३ सय १४ रुपैया संकलन भएको छ । यो वर्षको हालसम्मको आम्दानीको स्थितिले आन्तरिक स्रोत अनुमानको शतप्रतिशत लक्ष्य प्राप्त हुने देखिएको छ ।

आगामी आवको आन्तरिक स्रोतको आय १५ करोड ६९ लाख १० हजार रुपैया प्रस्ताव गरिएको छ । नेपालगञ्जको कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

आव २०७७-७८ मा व्ययतर्फ चालु खर्च ८९ करोड ८१ लख ९९ हजार ८ सय २० रुपैया ६ पैसा विनियोजन भएकोमा ७७ करोड ५९ लाख ४५ हजार ५ सय ३६ रुपैया ५ पैसा मात्रै खर्च भएको थियो । पूँजीगत खर्च ८१ करोड ३१ लख ९३ हजार एक सय १८ रुपैया ८३ पैसा विनियोजन भएको छ । वित्तिय व्यवस्थातर्फ ३ करोड १० लाख रुपैया विनियोजन गरेर खर्च गरिएको थियो । चालु आर्थिक वर्षको असार ७ गतेसम्म एक अर्ब ७ करोड ४ लाख २९ हजार ५ सय ९७ रुपैया २७ पैसामध्ये ७२ करोड ७५ लाख ८२ हजार ७ सय २१ रुपैया ३५ पैसा पेश्कीसहित खर्च भएको छ । पूँजीगततर्फ ६८ करोड ७ लाख ७२ हजार एक सय ७१ रुपैया ३६ पैसा विनियोजन भएकोमा २४ करोड २४ लाख २० हजार ९० रुपैया ९० पैसा खर्च भएको छ । वित्तियतर्फ चार करोड रुपैया विनियोजन गरिएकोमा एक करोड ७८ लाख ५२ हजार २ सय ९१ रुपैया २१ पैसा खर्च भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !