सुके नेपालगञ्जका धारा, कहिले आउला राप्तीको पानी ?
नेपालगञ्ज – नेपालगञ्जमा नजिकको सतहबाट पानी आउन छोडेको छ । यहाँका धेरै धारा (ह्याण्डपाइप) सुकेका छन् । अत्याधिक गर्मी अनि धाराबाट समेत पानी नआउदा नेपालगञ्जवासी थप पीडामा परेका छन् ।
पानीको कुनै समस्या नरहेको नेपालगञ्जमा वर्षेनी पानीको अभाव बढ्दोक्रममा छ । ४०/५० फिट गहिराईमा पानी आउने नेपालगञ्जमा अहिले यतिमा पानी भेटिन छोडेको छ । तल्लो सतहमै पानी भेटिन मुश्किल परिरहेको छ ।
बाह्रैमास पानी आउने घरको धारा सुकेपछि स्थानीयवासी खानेपानी संस्थानको शरणमा पुगिरहेका छन् । संस्थानमा यतिबेला पानीको धारा जडान गरिदिन निवेदन दिने बढेका छन् । संस्थानले विहान ६ देखि ९, दिउँसो १२ देखि १ र बेलुका ४ देखि ७ बजेसम्म पानी दिने गर्दछ । नेपालगञ्जमा संस्थानको पानी पिउनेको संख्या अत्यन्त न्यून छ । धारा सुकेपछि बाध्य भएर स्थानीयवासी संस्थानको पानी लिन बाध्य भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको जनसंख्या एक लाख ३८ हजार ९ सय ५१ रहेको छ । यहाँ २८ हजार २ सय घरधुरी छ । त्यसमध्येमा करिव पाँच हजार घरधुरीका ३० हजार मानिसले संस्थानको पानी पिउँछन् । संस्थानले दैनिक ६० लाख लिटर पानी छोडिरहेको छ ।
खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले ह्याण्डपाइप सुकेपछि संस्थानको पानी प्रयोग गर्ने बढेको बताउनुभयो । उहाँका अनुसार, संस्थानले औद्योगिक क्षेत्र, गुरुद्वारा, नन्दनी मिल र कार्यालय परिसरमा रहेको बोरिङबाट निकालेर पानी सप्लाइ गरिरहेको छ । पानीको माग बढिरहेकाले परसपुर, वाटरपार्क, कारकादो, रानीतलाउमा बोरिङ सञ्चालन हुँदैछन् ।
नयाँ–नयाँ ठाउँमा बोरिङ गाडिरहदा पुराना ठाउँका बोरिङ सुक्नेक्रम उत्तिकै छ । नेपालगञ्जका आठ वटा बोरिङ सुकिसकेका छन् । सात सयदेखि एक हजार फिटसम्म गाडिएका बोरिङमा पानी आउन छोडेको छ । जहाँ पायो त्यही, जति गहिराईसम्म पुगेपनि पानी आउन छोडेको छ । यसले पनि नेपालगञ्जमा पानीको सतह घट्दै र सुक्दै गएको देखाउँछ ।
नेपालगञ्जमा काकाकुलको अवस्था आउन नदिन राप्ती नदीबाट पानी ल्याउने योजना अघि सारिएको थियो । तीन वर्षभित्रै पानी ल्याउने गरी आर्थिक वर्ष २०७४/७५ बाट थालिएको काम अझै पूरा भएको छैन ।
३० करोडको यो योजना पूरा हुँदा र दैनिक दुई करोड पाँच लाख लिटर पानी दैनिक नेपालगञ्जमा झार्दा छेलोखेलो पुग्ने विश्वास गरिएको छ । तर, योजना नै पूरा नहुँदा ‘आकाशको पल, आँखातरी मर’ भनेझै भएको छ ।
संस्थानका कार्यालय प्रमुख श्रेष्ठले एक वर्षमा पाइप विछ्याइसक्ने र तीन वर्षभित्रमा स्थानीयवासीको घरघरमा पानी पु¥याउने रणनीति पछि परेको बताउनुभयो । उहाँका अनुसार, डुडुवा नालामा ट्रष्टब्रिज, फूल्टेक्रा आर्मी ब्यारेकदेखि बागेश्वरी पानी ट्यांकीसम्मको तीन किलोमिटर तथा कारकादोको राधाकृष्ण मन्दिरदेखि कारकादो चोकसम्मको एक सय ५० मिटर बाटोमा पाइप विछ्याउन बाँकी छ । बाटो खन्नका लागि संस्थानले सकड विभागलाई एक लाख ३१ हजार र नेपालगञ्ज उपमहानगरपालिकालाई नौ लाख ३१ हजार रुपैया बुझाइसकेको छ । कार्यालय प्रमुख श्रेष्ठले सरासर काम गर्न दिइने हो भने दुई महिनामै राप्ती नदीको पानी ल्याइसक्ने बताउनुभयो ।