नेविसंघ नेतृत्व गरेका प्रशान्त, पूर्ण र तप्त पालिका हाँक्दै

नेपालगञ्ज – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ), बाँकेको नेतृत्व गरेका तीन जना पालिका प्रमुख भएका छन् ।
नेविसंघको जिल्ला प्रमुख हुँदै पार्टीको कमिटिमा पुगेका तप्त पौडेल र प्रशान्त विष्ट तथा बहालवाला अध्यक्ष पूर्णप्रसाद आचार्यले पालिका जितेका हुन् ।

प्रशान्तले नेपालगञ्ज उपमहानगरपालिका, पूर्णले कोहलपुर नगरपालिका र तप्तले राप्तीसोनारी गाउँपालिका हाँक्दै छन् । यी तिनै वटा जिल्लाका सामरिक महत्वका पालिका हुन् ।

४३ वर्षीय प्रशान्तले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व गरेका छन् । नेविसंघको अध्यक्ष पछि प्रशान्त नेपालगञ्ज नगर कमिटिको अध्यक्ष छन् । तेस्रो कार्यकालका लागि नगर अध्यक्ष रहेका प्रशान्तलाई गठबन्धन खुवै फाप्ने गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा पार्टीबाट एकल रुपमा सहसचिव हारेका प्रशान्तले अखिलसँग गठबन्धन गर्दा स्ववियु उपसभापति जितेका थिए । अहिले जसपासँगको प्रत्यक्ष गठबन्धन र माओवादी, नेकपा एसलगायतको सहयोगमा प्रशान्त नेपालगञ्जको मेयर बनेका छन् ।

उपमहानगरपालिकाको नेतृत्व गरेका प्रशान्तलाई नेपालगञ्जको विकासमा सबैलाई साथ लिएर हिड्नु पर्ने चुनौती रहेको छ । मेयर प्रशान्तले सबैलाई साथमा लिएर नगरको विकासमा भेदभाव नगरी काम गर्ने बताउनु भएको छ ।

पूर्णलाई कोहलपुर नगरपालिकाको उम्मेदवार बनाउदा पार्टीभित्रका सिनियर नेताहरुको तीब्र असन्तुष्टि थियो । पार्टी कार्यालयमा तालाबन्दी गर्नेदेखि बागी उम्मेदवार हाल्नेसम्मको काम भयो । अन्तिममा बागीले उम्मेदवारी फिर्ता लिए । नेविसंघका बहालवाला अध्यक्ष ३३ वर्षीय पूर्णलाई केन्द्रको नेतृत्वले पत्याइदिंदा जिल्लाकै सिनियरले फुच्चे देख्दा ठूलो चुनौती व्यहोर्नु प¥यो । चुनाव भयो । नतिजा आउदा पूर्णले बाजी मारे । सबैको मुख थुनियो । नेविसंघका अध्यक्ष र महासमिति सदस्य रहेका पूर्णले एमालेका चर्चित नेता खिलप्रसाद भुसाललाई हराउदा उनलाई फुच्चे देख्नेहरु खुशीमा रमेका छन् ।

राप्तीसोनारी गाउँपालिकाको बाँकेको आन्तरिक स्रोत धेरै भएको पालिका हो । यो पालिकाको नेतृत्व नेविसंघको जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य र जिल्लाको पार्टी सचिव भएका तप्तको हाँक्दै छन् ।

वि.सं. २०७४ मा पनि राप्तीसोनारी कांग्रेसले जितेको थियो । पुनः जित्न पार्टीलाई भन्दा पनि तप्तलाई ठूलो चुनौती थियो । सरल नेता तप्तले पार्टीको साखलाई गिर्न दिएनन् । पार्टीले एउटा वडा जित्न नसक्दा तप्तले पालिका प्रमुख जितेर देखाइदिए । राप्तीसोनारी कांग्रेसको राम्रो संगठन भएको ठाउँ मानिन्छ । यद्यपि, टिकट वितरणमा केही असन्तुष्टि देखिएको थियो ।

जिल्लाको एक मात्रै उपमहानगरपालिका, नगरपालिकासँगै आन्तरिक स्रोत बढी भएको ठूलो गाउँपालिका राप्तीसोनारीको नेतृत्व गरेका नेविसंघबाट आएका युवा नेतृत्वले चुनौतीहरुलाई पार गर्दै कसरी सफल हुन्छन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !