भारतमा काम गर्न गएका नेपाली भोट हाल्न फर्किएनन्

नेपालगञ्ज – नेपालमा चुनावी रौनक छ । निर्वाचन हुन केही दिनमात्रै बाँकी रहेकाले ठूला, सानादल या स्वतन्त्र उम्मेदवारलाई मत माग्न भ्याइ नभ्याई छ । जित्ने कुरामा सबैको आ–आफ्ना दावी र धारणाहरु छन् ।

बैशाख ३० गते हुने यो निर्वाचन उत्सवलाई भारतमा रहेका नेपालीले खासै चासो नदिएको पाइएको छ । भारतका विभिन्न शहरमा काम गर्न पुगेका नेपालीहरु ठूलो संख्यामा घर फर्किएको पाइएको छैन । चुनावका बेलामा लाइन लागेर नेपालीहरु घर फर्किएको देखिने नेपालगञ्ज नाकामा यसपाली सुनसान रहेको छ ।

नेपालगञ्ज नाकामा भित्रिएका सानो संख्या पनि चुनावलाई लक्षित गरेर भन्दा मकै लगाउन र धानको बिउ छर्न आएको बताउने गरेका छन् ।
भारतको सिमला, प्रयाग, कालापहाडलगायतका ठाउँमा लुम्बिनी, कर्णाली प्रदेशका धेरै मानिस मजदुरीका लागि जाने गर्दछन् । ती मानिस चुनावमा भोट हाल्न भनेर फर्किएनन् । बालीको सुरसार गर्न भनेर फर्किएकाहरुले आएको बेलामा भोट हाल्ने प्रतिक्रिया दिएका छन् ।

नेपालगञ्ज नाकाबाट अहिले दुई सय आसपासमा नेपाली भित्रिरहेका छन् । उनीहरु बालीको सुरसार गर्न र आएको बेलामाभोट हाल्ने बताउँछन् । दैलेखका रामबहादुर सुनारले भोटै हाल्न भन्दा पनि बालीको सुरसार गर्न आएको बताउनुभयो । उहाँले आएको बेलामाभोट पनि हाल्ने बताउनुभयो ।

नाकामा रहेको इलाकाप्रहरी कार्यालय, जमुनाहाकाइन्चार्ज मिनबहादुर विष्टले भोट नै हाल्न भनेर ठूलो संख्याका नेपाली फिर्ता नभएको बताउनुभयो । ‘दिनमादुई अढाई सय मानिस फर्किरहेका छन् । उनीहरु भोट नै हाल्न भनेर आएको पाइएको छैन, विष्टले भन्नुभयो, नेपालगञ्ज नाकामा दुई अढाई सय जानु र आउनु सामान्य नै हो ।’

स्थानीयतहको चुनावले शहर बजारमात्रै होइन, गाउँघर नै रंगिएको छ । एउटा पार्टी जान नपाउदै अर्को पार्टी नारा गर्दै आइरहेका छन् । यो चुनावलाई काम गरेर खाने वर्गले खासै महत्व दिएका छैनन् । ‘आफ्नो दुःख आफैसँग छ, चुनावमा हिडेर के पाइन्छ र ?’ भन्नेहरु परदेशिएका मात्रै होइन, यही पनि प्रशस्त भेटिन्छन् ।

नेपालगञ्ज नाकाबाट दैलेख, जाजरकोट, कालिकोट, रोल्पा, रुकुम, सल्यानका ठूलो संख्याका मानिस भारतमा मजदुरी गर्न जान्छन् । परिवार नै लिएर जाने उनीहरु धानको बिउ राख्न र रोपाई गर्न फर्किने गर्दछन् । उनीहरु धान रोप्न र काट्न, चाडबाड मान्न आउँछन् । मौसमी यी कामदारलाई अहिलेको चुनावले छोएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !