पालिका हाँक्न पदमावतीको दौडधुप

नेपालगञ्ज – ६५ वर्षीय पदमावती यादवलाई अहिले जनताको घर–घरमा जान भ्याइ नभ्याई छ । राजनीतिक परिवारकी सदस्य रहेपनि पदमावती यसरी बाहिर निस्केर जनताको घरघरमा जानु परेको पहिलो पटक हो ।

श्रीमान स्व. दिनेशचन्द्र यादवले २०५१, ५६, ६४ र ७० सालको मध्यवती चुनावमा होमिदा पदमावतीले आन्तरिक व्यवस्थापन गर्नु भएको
थियो । घर बाहिरको व्यवस्थापनमा पदमावतीलाई खटिनु परेको थिएन । चार वटा चुनावमा प्रतिस्पर्धा गर्दा दिनेशचन्द यादवले एउटा चुनाव जित्नु भएको थियो । त्यो २०७० सालको थियो ।

पदमावतीलाई संसदीय चुनाव होइन, गाउँपालिकाको चुनावको अध्यक्ष जित्न दौडधुप गर्नु परेको हो । नेकपा एमालेले जिल्लाका आठ वटा पालिकामध्ये दुई वटामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । त्यसमध्येको एक नरैनापुर गाउँपालिका हो, जसको उम्मेदवार पदमावती यादव हुनुहुन्छ ।

नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक, विजुलीबत्ती, खानेपानीका समस्या छन् । छोरीको पढाईमा धेरै पछाडी परेको छ । यो गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’ पनि भन्ने गरिन्छ । पालिकाको केही भाग राप्ती नदीको डुवानमा पर्ने गर्दछ । पालिकाको प्रमुख समस्या आगलागी पनि रहेको छ । फुसका घर धेरै रहेकाले वर्षेनी ठूल्ठूला आगलागी हुने गर्दछ ।

पदमावती यतिबेला जनताको घरदैलोमा पुगेर हात जोड्दै मत मागिरहनु भएको छ । मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको यो पालिकामा हात जोड्दै हिड्नु भएकी पदमावतीले आफूले जित्दा सबैलाई साथमा लिएर विकास निर्माणका कामहरु गर्ने प्रतिबद्धता गर्नु भएको छ । श्रीमान स्व. दिनेशचन्द्रको पथचाप पछ्याएकी पदमावतीले एकपटक आफूलाई विश्वास गर्न जनतालाई अनुरोध गरिरहनु भएको
छ ।

नरैनापुरमा जनता समाजवादी पार्टी (जसपा) बाट मो. इस्तियाक अहमद शाह र कांग्रेसबाट रामचन्द्र मौर्यले अध्यक्षमा उम्मेदवारी दिएका
छन् । २०७४ सालमा नरैनापुरमा जसपाका शाहले चुनाव जितेका थिए । कांग्रेसका मौर्य पनि निरन्तर प्रतिस्पर्धामा रहदै आएका छन् ।

शाह र मौर्यजस्ता चुनावका सदाबहार प्रतिस्पर्धीलाई उछिन्न पदमावतीलाई सजिलो भने छैन । पदमावतीलाई श्रीमान स्व. यादवको विरासत जोगाउन र महिलाले पनि केही गर्न सक्छन् भन्ने देखाउन चुनौती रहेको छ । यो पालिकामा १८ हजार मतदाता रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !