सुमन मल्लको मतदातालाई चिठ्ठी
नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले विकासको प्रतिवद्धता गर्दै मतदातालाई चिठ्ठी पठाएका छन् ।
अध्यक्ष पदका उम्मेदवार मल्लले आगामी ५ वर्षका लागि १ सय १२ बुँदे प्रतिवद्धता पत्र सहित चुनावको मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका कुरा लेखेर पठाएका छन् । मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाई कसरी गर्ने भन्ने उल्लेख छ ।
मतदातालाई पठाएको चिठ्ठी पढेर खजुरा गाउँपालिका वडा नम्बर ७ का ८० वर्षका कर मोहम्मद खाँले जितको शुभकामना दिनुभयो । खाँले सुमनको पत्रमा उल्लेख भएको दुःखमा साथ दिने मेरो स्वभाव हो भन्ने शब्दले झनै भावुक बनाएको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिका –२ का खगेन्द्र सुबेदीले चिठ्ठी हातमा परेपछि क्षणभरमै पढ्न भ्याउनुभयो । हरेक शब्द मनछुने रहेको प्रतिक्रिया दिदैं उहाँले म नेता बन्न होइन सेवक बन्नका लागि निर्वाचनमा होमिएको हो भन्ने कुरा असाध्यै मन परेको बताउनुभयो ।
वडा नम्बर ५ का तसरोथ खाँले पनि चिठ्ठी प्राप्त गरिसकेका छन । खाँले सुमनको भावना उत्कृष्ट लागेको बताउनुभयो ।चिठ्ठी साँचेर राख्न भन्दै अध्यक्ष पदका उम्मेदवार मल्लेले त्यो कार्यान्वयन भए नभएको थाहा पाउन हरेक समयमा परीक्षा लिन अनुरोध समेत गरेका छन ।