डुडुवामा सरोजकुमारीको दौडधुप

नेपालगञ्ज – सरोजकुमारी यादव २५ वर्षअघि गाविस अध्यक्ष हुनुभयो । २०५४ सालमा बाँकेको होलिया गाविसको अध्यक्ष भएपछिका दिनमा सरोजकुमारीले आफू भन्दा श्रीमान विजय यादवको राजनीतिलाई अघि बढाउन सहयोग गर्नुभयो । श्रीमान विजयको विजयी यात्रामा रमाउनुभयो । विजय अहिले प्रदेश सांसद छन् ।

श्रीमान विजयको राजनीतिक यात्रालाई उचाईमा पु¥याउन रातदिन खटिएकी सरोजकुमारी यतिबेला आफ्नो लागि जनताको घरदैलोमा पुगिरहनु भएको छ । नेकपा एमालेबाट डुडुवा गाउँपालिकाको अध्यक्ष उम्मेदवार भएपछि यतिबेला सरोजकुमारीको दैनिक फेरिएको छ ।

सारीको सप्कोले टाउको ढाकिएकी सरोजकुमारीजस्ता धेरै मधेसी महिला घरघरमा पुगेर मत मागिरहेका छन् । पछाडी पारिएका महिलाको समस्यालाई बुझ्नेदेखि डुडुवामा वर्षेनी राप्तीनदीको डुवानमा परेर उठीबास लगाउनेको व्यवस्थापन, छोरीलाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणमा सरोजकुमारीका प्रतिबद्धताहरु छन् ।

हुन पनि, डुडुवामा पछिल्लो पाँच वर्षमा एक किलोमिटर बाटो पीच भएन । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले प्रदेश र संघको सहयोगलाई हार्दिकताका साथ स्वीकार नगर्दा ठूला योजना र सडक पीच भएनन् ।

सरोजकुमारीले समृद्ध डुडुवा बनाउने योजनाहरु अघि सारेर मत मागिरहनु भएको छ । २५ वर्षपछि फेरि राजनीतिमा सक्रिय हुनुभयो नि ? पत्रकारको जिज्ञासामा सरोजकुमारीको जवाफ थियो, पालिकाको भौतिक विकास र यहाँका जनताको जीवनस्तर उकास्न म अघि सरेको छु ।

मधेसी समुदायको बाहुल्य रहेको डुडुवामा मुस्लिम र पहाडी समुदाय पनि छन् । अझ यादव जातीको बाक्लो उपस्थिति छ ।

सरोजकुमारीलाई श्रीमान विजयले पाइला पाइलामा अगुवाई गरिरहनु भएको छ । झट्ट हेर्दा विजय यादव नै चुनाव लडेकोजस्तो पनि लाग्छ । उपाध्यक्षका उम्मेदवार सकील खानको जोशिलो जागरले सरोजकुमारीलाई हौसला थपेको
छ ।

मधेसमा प्रायः घरभित्रै रहने महिलाहरु सारीको सप्कोले टाउको छोपेर (मुस्लिमहरु बुर्का लगाएर) सडकमा मत माग्दै हिडेको देख्दा राजनीतिक चेतनास्तर बढेको भन्न करै लाग्छ । हामी पनि आफ्नो गाउँ ठाउँको विकास गर्न सक्छौ भन्ने सन्देश दिइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !