बाँकेमा गठबन्धन भएन, मित्रवत व्यवहारका साथ चुनावमा जाने सहमति
नेपालगञ्ज – बाँकेमा पाँच दलीय गठबन्धनको संभावना टरेको छ । सरकारमा सहभागी दलहरु मित्रवत व्यवहारका साथ चुनावमा होमिने भएका छन् ।
शुरुवाती बैठकबाटै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि शुक्रबार बसेको चार दलको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको हो ।
कांग्रेसका युवा नेता टेकनारायण भूसालले केन्द्रले पठाएको परिपत्र अनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकता अनुसार तल मिल्न सक्ने गरी चुनावमा जाने सहमति भएको बताउनुभयो । केन्द्रले पठाएको परिपत्रमा २०७४ सालमा जितेको ठाउँमा त्यही दललाई दिने र अन्य ठाउँमा मतभारका आधारमा भागबण्डा गर्ने थियो । त्यस अनुसार माओवादी केन्द्रले खजुरा गाउँपालिका सहजै पाउथ्यो । खजुरामा माओवादी दोस्रो भएको थियो । माओवादीले खजुरासँगै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामध्ये एक पाउनु पर्ने अडान राखेको थियो । कांग्रेसले यी ठाउँमा दिन चाहेन ।
जिल्लास्तरमा सहमति हुन नसकेपछि वडा वा पालिकास्तरमा आवश्यकता अनुसार सहमति गर्न सक्ने गरी हाललाई मित्रवत व्यवहार गर्ने गरी जाने सहमति भएको हो । नेताहरुले केन्द्रले अर्को परिपत्र गरेमा फेरि छलफल गर्न सक्ने बताएका छन् ।