बाँकेमा गठबन्धनको आवश्यकता नरहेको कांग्रेस नेताहरुको भनाइ
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेका नेताहरुले बाँकेमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने एक महिने अभियानका क्रममा कार्यकर्ताहरुको घरघरमा पुगेका नेताहरुले गठबन्धनका नाममा कांग्रेसले आफू सिधिने बाटो रोज्न नहुने बताए ।
स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नुपर्छ । बाँकेमा गठबन्धनको आवश्यकता छैन । केन्द्रबाट हामीलाई जबरजस्ती गठबन्धनका नाममा लाद्ने काम नहोस् नेताहरुले एकै स्वरमा बताएका छन् ।
सभासद् भोला सिद्धिकीले गठबन्धनका नाममा नेपालगञ्ज उपमहानगरपालिका अर्को पार्टीलाई दिएमा त्यसलाई नमान्ने बताउनुभयो । सिद्धिकीले भन्नुभयो, ‘यो संविधानका पिता पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति स्व. सुशील कोइरालाको गृह शहर हो । यहाँ कांग्रेस एक्लै बलियो छ । गठबन्धन गर्न जरुरी छैन । गठबन्धनका नाममा नेपालगञ्ज उपमहानगरपालिका अर्को पार्टीलाई दिने काम भएमा हामी त्यसलाई मान्दैनौ ।’
कांग्रेसका नगर सभापति प्रशान्त विष्टले नेपालगञ्जमा गठबन्धनको आवश्यकता नै नरहेको बताउनुभयो ।
२०७४ सालको निर्वाचनमा कोहलपुर नगरपालिकामा कांग्रेस ८३ मतले मेयरमा पराजित भएको थियो । उपमेयर जित्यो । गठबन्धनका नाममा अहिले माओवादीको रोजाई कोहलपुर नगरपालिका रहेको छ । क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीले कोहलपुर नगरपालिकामा कांग्रेसको बर्चस्व रहेकाले छोड्ने कुरै नआउने बताउनुभयो । क्षेत्रीय सभापति केसीले भन्नुभयो, ‘हामीले यो बीचमा धेरै मिहेनत गरेर माओवादीबाट नै धेरै साथीहरु कांग्रेसमा भित्र्याएका छौं । माओवादीसँग विरक्तिएर आएका व्यक्तिले फेरि गठबन्धनका नाममा माओवादीलाई नै भोट हाल्नु पर्ने अवस्था आयो भने उनीहरुले के भन्लान् ? त्यसैले जनभावना विपरित केन्द्रबाट पत्र आएमा हामी त्यसलाई मान्दैनौ । नेतृत्वले यसमा बुद्धि पु¥याओस् ।’
डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ प्रदेश ‘क’ का सभापति ज्ञानेन्द्र चौधरीले आफ्नो पालिकामा गठबन्धन स्वीकार नगर्ने बताउनुभयो । यो पालिकामा कांग्रेसले जितेको छ ।
बाँकेका आठ वटा पालिकामध्ये दुई वटा पालिका जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका उपमेयर जितेको छ । अन्यत्र निकटतम प्रतिस्पर्धी थियो ।