दूधमा खेल्ने रामसुहावन, दैनिक बेच्छन् पाँच सय लिटर

नेपालगञ्ज – धेरैको दिमागमा यादवले भैसी पाल्छन् भन्ने छ । कुरा सत्य हो पनि । अधिकांश यादवले भैसी पाल्ने र दूध बेच्ने गर्छन् नै ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, हल्कारापुरुवाका रामसुहावन यादव अलि धेरै भैसी पालेर ठूलो मात्रामा दूधको कारोबार गरेर उत्कृष्ट कृषक ठहरिएका छन् । यादवको गोठमा अहिले एक सय ३० वटा भैसी छन् । ३५ वटाले दूध दिन्छन् ।

भैसीको रेखदेख गर्न यादवले ६ जना कामदार राखेका छन् । विहान ४ बजे उठेर कामदारसँगै भैसीको रेखदेखमा लाग्छन् रामसुहावन । शुरुमा दानापानी खुवाउँछन् । अनि दूध दुहुन बस्छन् । ६÷७ जनाले दूध दुहुदा दुई घण्टाजति समय लाग्छ । अनि, त्यो दूध लगेर गाउँदेखि करिव दुई किलोमिटर टाढा रहेको मिलनचोकको चिस्यान केन्द्रमा राख्छन् ।

विहानको यति काम सकिएपछि रामसुहावन दानाको तयारीमा जुट्छन् । दूध बिक्री गर्नतिर लाग्छन् । ६ जना कामदारले भैसीलाई नजिकैको राप्ती नदी आसपासको खाली ठाउँमा चराउन लैजान्छन् । साँझ ६ बजेतिर भैसी फेरि गोठमा आइपुग्छन् । फेरि विहानैकै रुटिन शुरु हुन्छ, दूध दुहुने र चिस्यान केन्द्रमा पु¥याउने ।

रामसुहावनको यो दैनिक अहिले उनले बनाएको होइन । उनका बाउबाजेले यही पेशा अंगालेका थिए । फरक त्यत्ति हो, बाउबाजेले अलि कम भैसी पालेका थिए, रामसुहावनले धेरै पालेका छन् । पालिकामै धेरै भैसी पालन गर्ने किसान ठहरिएका रामसुहावनले भन्नुभयो, ‘भैसी त मेरो बाउबाजेले पनि पाल्नु हुन्थ्यो । उहाँहरुले थोरै पालेर जिविका चलाउनु भएको थियो । म व्यवसायिक रुपमा अघि बढेको छु ।’

रामसुहावनले दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्छन् । मिलनचोकमा रहेको आफ्नै चिस्यान केन्द्रमा राखिने दूध दुग्ध विकास संस्थानको गाडी आएर लैजान्छ । नेपालगञ्जका केही डेरीले पनि दूध लैजान्छन् ।

रामसुहावनले दूध बेचेर दैनिक पाँच हजार बढी बचत गरिरहेका छन् । तत्कालिन राष्ट्रपति डा. रामवरण यादवबाट रामसुहावनले उत्कृष्ट कृषकको पुरस्कार पाएका थिए । यादव भैसी पालन फर्म चलाइरहेका रामसुहावनले दूध बेचेरै घर घडेरी जोडेका छन् । थोरै घरबास मात्रै रहेका रामसुहावनको अहिले आठ विगाह बढी जमिन छ । आफ्नै मिल छ । भैसीका लागि ढुटो त्यही निस्किन्छ । इमान्दारीपूर्वक, मिहिनेत गर्दै जाने हो भने त्यही पेशामा सबैथोक आइलाग्छ भन्ने कुरा रामसुहावनले देखाएका छन् । बाउबाजेको पालामा थोरै भैसी थिए । दूध बोकेर नेपालगञ्ज आउनु पथ्र्यो । न त मिल थियो न त चिस्यान केन्द्र । अहिले दूध राख्ने चिस्यान केन्द्र आफ्नै छ । डीडीसी आफै दूध लिन आइपुग्छ । डेरीहरु आउँछन् । घरबाटै दूध बिक्री भइरहेको छ ।

रामसुहावनले दुई वटा गोठ बनाएका छन् । दूध दिनेलाई एक ठाउँमा र दूध नदिनेलाई अर्को ठाउँमा राख्छन् । पाडा र पाडी बेच्छन् ।

भतिजा रामसुहावन यादवले अहिले परिवारमा आर्थिक अभाव नरहेको बताउनुभयो । उहाँले व्यवसायिक रुपमा भैसीपालन र दूध बिक्री थालेपछि परिवारको आर्थिक हैसियतमा ठूलो परिवर्तन आएको बताउनुभयो । यादवका छोराछोरी सबै कोही निजी त कोही सरकारी स्कूलमा पढ्छन् ।

हुन त हल्कारापुरुवामा सबैको घरमा भैसी छन् । गाउँमा सबै यादव नै छन् । व्यवसायिक रुपमा फर्म नै दर्ता गरेर भैसी पाल्ने रामसुहावनमात्रै छन् । अरु केही यादव परिवारले फर्म दर्ता गर्ने तयारीमा छन् । ६०-७० वटा भैसी पाल्ने परिवार गाउँमा धेरै छन् । गाउँका सबै मानिसको काम नै भैसी पाल्ने र दूध बेच्ने रहेको छ । हल्कारापुरुवाबाट आउने दूधले नेपालगञ्जवासीका भान्छामात्रै होइन, जिल्लाबाहिरका धेरै शहरका भान्छामा पुग्ने गरेको छ । हल्कारापुरुवामा करिव ५० घर रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !