ऐतिहासिक शहर नेपालगञ्जको अबको मेयर को ?
नेपालगञ्ज – नेपालगञ्ज पश्चिम क्षेत्रको स्वास्थ्य, शैक्षिक र व्यापारिक केन्द्र मानिन्छ । साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्लाका मानिस स्वास्थ्य उपचार गर्न, पढ्न र व्यापार व्यवसायका लागि नेपालगञ्जमा आइपुग्छन् ।
नेपालगञ्ज ऐतिहासिक शहर पनि हो । देशकै पुरानोमध्येको शहर हो, नेपालगञ्ज । इष्ट इन्डिया कम्पनीका विरुद्धमा लखनऊमा भएको गदर दबाउन नेपालका श्री ३ जंगबहादुर राणा नै फौज लिएर उपस्थित भएपछि खुशी भएका अंग्रेजले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता गरिदिएको थियो । ‘नयाँ मुलुक’को नामबाट समेत चिनिएको यी चार जिल्लाको प्रमुख केन्द्र नै नेपालगञ्ज स्थापित भयो ।
नेपालगञ्ज पर्यटकीय प्रवेशद्वार पनि हो । भारतको ठूलो शहर लखनऊ नजिक पर्ने भएकाले नेपालगञ्ज हुँदै यस क्षेत्रमा भारतीय पर्यटकको प्रवेश हुने गर्दछ । भारतीयहरु विशेष गरेर मानसरोबर जाने गर्दछन् । नेपालगञ्जमा अहिलेसम्म स्थलमार्ग भारतीय पर्यटकको उपस्थिति हुने गरेको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाएर भारतको दिल्ली र लखनऊसम्म जोड्न सकेमा पर्यटकको संख्या अझ बढ्ने देखिन्छ । यो काम गर्नका लागि नेपालगञ्जको मेयरको भूमिका प्रमुख हुने गर्दछ ।
राणाकालमा आफ्नै भाइभारदारबाट लखेटिएका श्री ३ जंगबहादुर राणा र श्री ३ देवशमशेर राणाका सन्तानहरु ‘आममाफी’ पाएपछि नेपालगञ्जमा बसोबास गरेकाले पनि नेपालगञ्जको महत्व बढेको भन्नेहरु धेरै छन् । भारतीय शहर रुपैडिहामा रेलमार्ग रहेकाले नेपालगञ्ज आवतजावत गर्न सहज थियो ।
वि.सं. २००७ सालको क्रान्तिमा नेपालगञ्जको भूमिका अझ गौरावन्वित रहेको छ । प्रजातान्त्रिक कांग्रेसको अखडा मानिएको नेपालगञ्जबाटै पश्चिममा डडेल्धुरा र पूर्वतर्फमा पाल्पासम्मको आन्दोलनको रुट नेपालगञ्ज नै थियो । जनमुक्ति सेनाका कमाण्डर पुरन सिंह, जीवी याक्थुम्बा, महेन्द्र शाहहरु नेपालगञ्ज र सीमामा आइरहन्थे । आन्दोलनको राँको जलाउँथे । स्थानीय नेताहरुले दरिलो साथ दिन्थे ।
नेपालगञ्ज नगर पञ्चायत बन्दा यो भन्दा पुराना शहर तीन-चार वटा थिए । इतिहासलाई जोडेर हेर्दा नेपालगञ्ज विकासमा भने धेरै पछाडी परेको भन्न करै लाग्छ ।
२०४६ सालमा पुनः प्रजातन्त्र फर्किएपछि नेपालगञ्जमा दुई जनाले मेयर भन्ने सौभाग्य प्राप्त गरे । विजय गुप्ता र डा. धवलशमशेर राणा । राणा दुई पटक मेयर भए, २०५४ र २०७४ मा । त्यसपछि गुप्ता मेयर थिए । डा. राणाको दोस्रो मेयरको कार्यकाल सकिदैछ । उनी श्री ३ देवशमशेर राणाका पनाति हुन् । सरल स्वभावका कारण डा. राणाले पार्टी कमजोर हुँदाहुँदै व्यक्तिगत रुपमा मत ल्याएर चुनाव जितेका थिए ।
स्थानीय तहको चुनावको मिति नजिकिदै जादा यो ऐतिहासिक शहरको विरासत हडप्न दल र नेताहरु मैदानमा देखिन थालेका छन् । अहिलेसम्म दलहरुले आधिकारिक रुपमा यो नै आफ्नो मेयरको उम्मेदबार भनेर बाहिर भनिसकेका छैनन् । भित्रभित्र नेताहरुलाई ‘ग्रिनसिग्नल’ दिएर मैदानमा पठाउने काम भने गरिरहेका छन् ।
लगातार दुई पटक मेयर बनेका डा. राणाको पार्टी राप्रपाबाट अहिलेसम्म मेयरको लागि कुनै नेताको नाम अगाडि आएको छैन । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले दुई÷चार दिनमा राप्रपाको मेयरदेखि माथिको उम्मेदवारको टुंगो लाग्ने बताउनुभयो । ‘अहिले हामीले कसैको नाम बाहिर ल्याएका छैनौ, दुई-चार दिनमा टुंगो लाग्छ, सहायक महामन्त्री देवकोटाले भन्नुभयो ।
राप्रपाका महामन्त्रीसमेत रहेका मेयर डा. राणाले फेरि मेयरमा चुनाव नलड्ने उद्घोष गरिसक्नु भएको छ । डा. राणा नेपालगञ्ज बजार र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ बाट संघीय सांसदमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।
स्रोतका अनुसार, राप्रपाले नेपालगञ्जको मेयर र यस क्षेत्रको संघीय सांसदका लागि कार्यगत एकता गर्न चाहेको छ । उसले एमालेलाई मेयर छोडेर संघीय सांसदमा आफ्नो उम्मेदवारलाई सघाउन एमाले नेतृत्वसँग छलफल चलाइरहेको छ । यस विषयलाई इन्कार नगरेका राप्रपाका सहायक महामन्त्री देवकोटाले जे–जे हुन्छ, केही दिनमै हुने प्रतिक्रिया दिनुभयो ।
नेकपा एमालेले पशुपतिदयाल मिश्रलाई मेयरको रुपमा अगाडि सार्ने पक्का–पक्कीजस्तो नै छ । हृदेयस त्रिपाठी संयोजक रहेको स्वतन्त्र समूहमा रहदा वि.सं. २०७४ सालको चुनावमा एमालेको चुनाव चिन्हबाट नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट संघीय सांसदमा चुनाव लडेका मिश्र एमाले प्रवेश गरेर मेयरको दावी गरेका छन् । एमाले प्रवेश गर्दा नेपालगञ्जको मेयरमा चुनाव लड्ने इच्छा देखिएकाले एमालेका शीर्ष नेतृत्वबाट त्यो आश्वासन दिइएको एमाले नेताहरु बताउँछन् । मिश्र नेपालगञ्जमा जनाधार भएका नेता नै गनिन्छन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका मिश्रले आन्तरिक रुपमा प्रचार प्रसार र भेटघाट थालिसकेका छन् । यद्यपि, पार्टीले उम्मेदवार घोषणा भने गरिसकेको छैन ।
एमालेका जिल्ला सचिव रत्न खत्रीले पार्टीले जनाधार भएको र जित्न सक्ने व्यक्तिलाई नेपालगञ्जको मेयर बनाउने बताउनुभयो । ‘हामीले नेपालगञ्जमा जित्न सक्ने र जनाधार भएको नेतालाई उम्मेदबार बनाउने हो, जिल्ला सचिव खत्रीले भन्नुभयो, मिश्र हुने संभावना बढी छ ।’
तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला र शहर रहेको नेपालगञ्जमा कांग्रेसको उम्मेदवारमा रस्साकस्सी देखिएको छ । अहिलेसम्म चार जनाको नाम बाहिर आएको छ । २०७४ सालको निर्वाचनमा मेयर लडेका डा. सुरेश कनोडिया, हालकी उपमेयर उमा थापामगर, पार्टीका नगर सभापति प्रशान्त विष्ट र व्यापारिक नेता अच्युत प्रसाईको नाम चर्चामा रहेको छ । चारै जनाले आफूलाई मेयर बनाउन लबिङ गरिरहेका छन् ।
जिल्ला सचिव सुधांशु कोइरालाले गएको चुनावमा ११ जना उम्मेदवारको नाम आएको र यसपाली पनि त्यसकै नजिक–नजिक पुग्ने देखिएको बताउनुभयो । ‘आकांक्षा त धेरैले गरेका छन् । कनोडिया, थापा, विष्ट र प्रसाईमध्येबाट नै एकजना मेयरको उम्मेदवार हुने संभावना रहेको छ, जिल्ला सचिव कोइरालाले भन्नुभयो, यहीमध्येबाट पार्टीले निर्णय गर्ला ।’
डा. कनोडिया नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक हुन् । गएको निर्वाचनमा उनी निकटतम प्रतिस्पर्धी थिए । चुनाव नजिकिदै गर्दा डा. कनोडियाको दौडधुप बढी नै देखिन्छ । लामो यमसदेखि नगर सभापति रहेका विष्ट र उपमेयर थापाले बलियो दावी गरेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष हुँदै महासंघको केन्द्रीय सदस्य भइसकेका प्रसाई पनि नेपालगञ्जका चर्चितमध्येकै नाम मानिन्छ । बाहिर बजार धेरै चर्चा नभएपनि प्रसाईको पार्टीमा दावी रहेको छ ।
नेकपा माओवादी केन्द्रबाट तीन जनाको नाम चर्चामा आएको छ । नेता नविन शर्मा, नन्दलाल बैश्य र आदेश अग्रवालको नाम बाहिर आएको छ । नेपालगञ्जको ठूलो जनमतलाई आफूसँग राख्न सफल माओवादीका नेता दामोदर आचार्यको हालै निधन भएको छ । पार्टीका चर्चित नेता नविन, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बैश्य र संघसम्बद्ध नेता अग्रवालको मेयरमा दाबेदारी रहेको छ । पार्टीले कसलाई टिकट दिन्छ, अहिलेसम्म कुनै टुंगो नलागेको नेताहरु बताउँछन् ।
नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव जितेका मो. इस्तियाक राईको पार्टी जनता समाजवादीले जिल्ला अध्यक्ष कमरुद्दिन राईलाई मेयर उम्मेदवार बनाउने पक्काजस्तै छ । पूर्वमन्त्री इस्तियाकको बजारमा राम्रै प्रभाव रहेकाले जनता समाजवादीको उम्मेदवारलाई नजरअन्दाज गर्न मिल्ने देखिदैन । विकासमा भेदभाव भएकाले आफूले मेयरमा उम्मेदवारी दिएको कमरुद्दिनले बताउदै हिडेका छन् ।
नेपालगञ्जमा मिश्रित समुदायको बसोबास रहेको छ । हिन्दु, मुस्लिम, बौद्ध, क्रिस्चियन समुदाय छन् । हिन्दु र मुस्लिमको बाक्लो बसोबास रहेको छ । शिव सेना नेपालको बजारमा राम्रै उपस्थिति रहेको छ । यसबाट होटल व्यवसायी दिवाकर खनालले मेयरको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शिव सेनासम्बद्ध हिन्दुहरुको मतलाई खनालले प्रभाव पार्ने देखिन्छ ।
पार्टीहरुले उम्मेदवारको टुंगो लगाइनसकेकाले कार्यक्रम र मास देखाउने प्रतिस्पर्धा शुरु भइसकेको छैन । उम्मेदवार हुन आकांक्षी रहेका नेताहरु पार्टी कार्यालय, केन्द्र र टोलामहोल्लातिर सक्रिय भएको देख्न सकिन्छ ।
नेपालगञ्जलाई हवाई उडानमा भारतसँग जोड्ने आगामीको मेयरको मुद्दा हुनु पर्दछ । भेरी अस्पतालको स्तरोन्नति सबैजसो उम्मेदवारको नजरमा पर्ने देखिन्छ । खुल्ला सीमाको व्यवस्थापनसँगै यहाँका तालतलैयाको संरक्षण र पर्यटकीय स्थलको रुपमा विकास गर्ने, ढल नाली र सडकको स्तरोन्नति, कन्या स्कूल र कलेजको व्यवस्थापन नेपालगञ्जका समस्या र चुनौतीका रुपमा रहेका छन् ।