सुर्खेतरोडको अतिक्रमण हटाउन शुरु
नेपालगञ्ज – सुर्खेतरोडको अतिक्रमण हटाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय, बाँकेले फोरलेन सडकको अतिक्रमित घर टहरा भत्काउन शुरु गरेको हो ।
पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन शुरु गरिएको छ । कोहलपुरबाट अतिक्रमण हटाउन शुरु गर्ने भनिएपनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको छ । अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुग्नु भएको थियो ।
नेपालगञ्जको जमुनाहादेखि कोहलपरसम्मको सडक क्षेत्रमा सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थायी र अस्थायी संरचनाहरु हटाउन शुरु गरिएको हो ।
सडक डिभिजन कार्यालयले विल्डर्स एरियामा ४२ मिटर र अन्य ठाउँमा ५० मिटर फराकिलो सडक रहने बताएको छ । कोहलपुर र नेपालगञ्जको केही क्षेत्रलाई विल्डर्स भनिएको छ ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेतरोडलाई फोरलेन बनाइएको हो । ५० मिटर कै सडक बनाउने भनिएपनि केही टाठाबाठाले फोर्सफोर्स लगाएर ४२ मिटमा खुम्च्याउन भ्याएका थिए । सबै ठाउँमा त्यही ४२ मिटर पनि छैन ।
दुई दिनअघि बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सुर्खेतरोडको अतिक्रमण हटाउने निर्णय गरेपछि सडक डिभिजन कार्यालय घर भत्काउन अघि सारेको हो । नेपालगञ्जको सुर्खेतरोड र नेपालगञ्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय एकैपटक गरिएको छ ।