नारी दिवसमा भैरवप्रसाद गणमा विविध कार्यक्रम
नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले विविध कार्यक्रम गरेर ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
क्रियटिभ ह्याण्डसको सहकार्यमा विभिन्न कार्यक्रम गरिएको हो । गणमै महिला सैनिकका बीचमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ । बाँकेका विभिन्न क्षेत्रका अगुवा महिला र सैनिक महिलाले संयुक्त रुपमा केक काटेर खुशीयाली मनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा र खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले महिलालाई सहभागितामात्रै होइन, नेतृत्वदायी भूमिका दिनु पर्ने बताउनुभयो । उहाँहरुले महिलाले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको दोहो¥याउदै महिला–महिलाका बीचमा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने धारणा राख्नुभयो ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा महिला सैनिकले गरेको कामको उच्च मूल्यांकन गर्नुभयो । प्रमुख सेनानी कार्कीले सबैसँग सहकार्य गरेर सैनिक–नागरिक सम्बन्ध सुमधुर बनाउने विविध गतिविधि गरिरहेको र त्यसमा सबैको साथ र सहयोग पाएको बताउनुभयो ।
क्रियटिभ ह्याण्डसका संस्थापक अध्यक्ष टीएस ठकुरीले महिला सशक्तिकरणका लागि आठ वर्षदेखि नेपालगञ्जमा प्रधानमन्त्री कप आमन्त्रित महिला भलिबल प्रतियोगिता हुँदै आएको जानकारी दिदै त्यसको आगामी संस्करणमा सबैको साथ र सहयोगको अपेक्षा राख्नुभयो ।
सो अवसरमा प्रमुख सेनानी कार्की र क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले उपस्थित महिला अगुवालाई प्रधानमन्त्री कप लेखेको टीसर्ट प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा राखेपका सदस्य सुमित्रा चौधरी, कैलपाल अस्पताल एण्ड कलेजकी रेवती सिंह, एबीसी स्कूलका प्रधानाध्यापक शशी स्वाँर, डा. रोमा बोरा, भारोत्तोलनकी स्वर्णपदक विजेता सन्जु चौधरी, नेपाल पत्रकार महासंघ, बाँकेका उपाध्यक्ष करुणा शाहलगायतको उपस्थिति रहेको थियो ।