खजुराबाट प्रादेशिक विश्वविद्यालय सार्ने षड्यन्त्र, संघर्षको तयारी

नेपालगञ्ज – बाँकेको खजुरामा बनाउन थालिएको प्रादेशिक विश्वविद्यालयलाई सार्ने षड्यन्त्र भएपछि संघर्षको तयारी गरिएको छ ।
शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले खजुरा गाउँपालिकाको वडा नं. ८, रनियापुरमा प्रादेशिक विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । बाँके र बर्दियाका जनताले कर्णाली प्रदेशमा मिसिने आन्दोलन गरिरहदा यहाँका जनतालाई खुशी बनाउनका लागि खजुरामा प्रादेशिक विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो । अहिलेको सरकारले विश्वविद्यालयलाई बाँकेबाट अन्यत्र लैजाने तयारी थालेर अघिल्लो सरकारको निर्णयलाई उल्टाउने प्रयास गरेको हो ।
खजुरामा विश्वविद्यालय बनाउने निर्णयलाई नीति तथा योजनामा पारेर अघिल्लो सरकारले प्रत्येक वर्ष बजेट दिदै आएको थियो । प्रदेशमा प्रादेशिक विश्वविद्यालय ऐन र कार्यविधि नहुँदा पैसा खर्च हुन सकेको थिएन । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ मा तीन करोड, ०७७÷७८ मा ७ करोड र चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको थियो ।
खजुरा गाउँपालिकाले रनियापुरमा रहेको तीन सय विगाह ऐलानी जमिनमध्ये विश्वविद्यालयका लागि सय विगाह छुट्याएको थियो । प्रादेशिक विश्वविद्यालयको ऐन र कार्यविधि बनेकाले अब विश्वविद्यालयको काम दु्रतगतिमा अघि बढ्ने विश्वास लिइएको बेलामा सरकारले विश्वविद्यालयलाई अन्यत्र सार्ने षड्यन्त्र गरेपछि खजुरा गाउँपालिकाले संघर्ष शुरु गरेको छ ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रदेश सरकारले खजुराबाट प्रदेश विश्वविद्यालयबाट सार्ने षड्यन्त्र गरेकाले त्यसको विरुद्धमा संघर्षको कार्यक्रम शुरु गरेको बताउनुभयो । गाउँपालिकाले खजुरामा सर्वदलीय बैठक बसेर संघर्षलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । अध्यक्ष कक्षपतिले केही दिनमै संघर्ष समिति गठन गर्ने जानकारी दिनुभयो । सर्वदलीय समितिले ज्ञापनपत्र बुझाउने, बाँके र बर्दियाका राजनैतिक दल र प्रदेशका सांसदहरुलाई उपस्थिति गराएर धारणा माग गर्ने, जिल्लास्तरीय संघर्ष समिति बनाउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कक्षपतिले बिहीबार नै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीलाई फोन गरेर प्रदेश विश्वविद्यालय सार्ने षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आग्रह गर्नु भएको थियो । कुराकानीका क्रममा उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयको लागि ठाउँ तोक्ने काम योजना आयोगको नभएको प्रतिक्रिया दिनु भएको थियो ।
बाँकेमा विश्वविद्यालय स्थापनाका लागि लामो समयदेखि संघर्ष हुँदै आएको छ । मध्यपश्चिम विश्वविद्यालयका लागि नेपालगञ्जमा निरन्तर आन्दोलन भएपनि सुर्खेत गएको थियो । प्रदेश विश्वविद्यालय खजुरामा बनाउने निर्णय गरेर तत्कालिन प्रदेश सरकारले बाँके र बर्दियाका मानिसलाई खुशी बनाउने प्रयास गरेको थियो । त्यसलाई अहिलेको सरकारले उल्टाउने षड्यन्त्र गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !