बलात्कार आरोपी सांसद बानिया पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले बलात्कारको आरोप लागेका सांसद मोहन बानियालाई पक्राउ गरेको छ ।
जुम्लाकी एक शिक्षिकालाई नेपालगञ्जको एक होटलमा बलात्कार गरेको आरोप लागेका सांसद बानिया सोमबार साँझ काठमाडौंबाट नेपालगञ्ज आएका थिए । सांसद बानियालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाले शिक्षिकालाई कण्डम लगाएर दुई पटक बलात्कार गरेको आरोप लागेको छ । बानियाले आरोपको खण्डन गर्दै आएका छन् । माघ २४ गते जिल्ला प्रहरी कार्यालय, बाँकेमा महिलाले बलात्कारको जाहेरी दिएकी थिइन् भने प्रहरीले २७ गते दर्ता गरेको थियो । फाल्गुन २ गते अदालतले सांसद बानियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
प्रहरीसँग सम्पर्कमा रहेका सांसद बानियाले आफै जिप्रकामा आउदैछु भन्ने सन्देश पठाएको बुझिएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाले आउँदैछु भनेर जानकारी दिएको बताउदै नेपालगञ्ज विमानस्थलबाट आफूहरुले लिएर आएको बताउनुभयो । ‘उहाँले आउँदैछु भन्नु भएको थियो । हामीले विमानस्थलमा गएर लिएर आयौं, प्रवक्ता डीएसपी न्यौपानेले भन्नुभयो, अब स्वास्थ्य परीक्षण गर्छौ । पर्सी म्याद थप हुन्छ ।’
सांसद बानियाले पैसा लेनदेनको विषयलाई लिएर आफ्नो चरित्र हत्या र राजनीतिक भविष्य सिध्याउने काम भइरहेको दावी गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !