गौडेल पक्षको उम्मेदवार घोषणा

नेपालगञ्ज – फागुन १५ गते हुने नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सदस्य पदका उम्मेदवारहको पनि घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा सोमबार (सोमबार) आयोजित एक कार्यक्रमका बीच सदस्यका उम्मेदवारहरुको घोषणा गरिएको हो ।
गौडेल समूहका सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । पदाधिकारी उम्मेदवारहरुको घोषणा भने पुस १९ गते नै गरिएको थियो । उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट उम्मेदवार बन्ने भएका छन् । कोहलपुर नगरपालिकाबाट खुलातर्फ ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल तथा राप्तीसोनारी गाउँपालिकाबाट खुलातर्फ टिकाराम बस्नेत र महिला कोटामा तिला कार्की उम्मेदवार बन्ने भएका
छन् ।
नरैनापुर गाउँपालिकाबाट खुलातर्फ महबुब अलि शेष र महिलातर्फ विमलादेवी तमौली, खजुराबाट खुलातर्फ पारसनाथ योगी, जानकीबाट खुलातर्फ रामचन्द्र गुप्ता र महिलातर्फ सुनिता कुमारी आले तथा बैजनाथबाट खुलातर्फ डिलबहादुर बुढा र महिलातर्फ कोपिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै आरक्षणतर्फ खस आर्यबाट मोहन प्रसाद शर्मा (चापागाई) र मोहन शर्मा, आदिवासीतर्फ सुरेश श्रेष्ठ, मधेशीबाट देउकल यादव र लक्ष्मीकुमारी यादव, दलिततर्फ धर्म सुनार, थारुतर्फ रामबहादुर थारु र ललितादेवी थारु तथा मुस्लिमतर्फ सकरुन बेगम र जलिल ढपाली उम्मेदवार हुने भएका छन् । बाँकी केही सदस्य पदका उम्मेदवारहरुको टुंगो एक दुई दिनमै लाग्ने भुसालले बताउनुभयो ।
पार्टी सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा भएको घोषणा कार्यक्रममा सभापति कोइराला, सचिव तप्त पौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य अञ्जना पाण्डे, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेता हुर्मत न्यौपाने, महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइली, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, सभापति पदका उम्मेदवार गौडेल र महाधिवेशन प्रतिनिधि एवम् गौडेल समूहका प्रचारप्रसार संयोजक पूर्णप्रसाद आचार्यले बोलेका थिए ।
बक्ताहरुले गौडेल समूह सशक्त र जुझारु भएको भन्दै भारी मतका साथ विजयी बनाउन क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेका छन् । बाँके कांग्रेसलाई गतिशील र चलायमान बनाउन गौडेल समूहको विकल्प नसोच्न मतदातालाई उनीहरुले आग्रह गरेका छन् । पार्टीको तल्लो तहसम्म यसप्रकारको धारणा रहेकाले गौडेल समूह हाबी रहेको बक्ताहरुको भनाई छ ।
पार्टीमा आशाको नयाँ सञ्चार गर्न गौडेल समूह सक्षम रहेको नेताहरुले बताए । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको लिगेसीसंग जोडिएको गौडेल समूह बाँकेका आम कांग्रेसजनको भावना प्रतिविम्बित गर्ने सशक्त विचार समूह रहेको उनीहरुको भनाई छ । आगामी निर्वाचनहरुमा जिल्लामा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन गौडेल समूहलाई जिताउनुपर्नेमा नेताहरुको जोड छ । कार्यक्रमको सञ्चालन बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !