दिनभरी चल्ला बेच्ने, राती डकैती

नेपालगञ्ज – भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरी बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दारहेछन् ।
चल्ला बेच्ने निहुँमा घर, धनसम्पति, परिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राती लुट्न आउने गरेको पाइएको छ । बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।
मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८, शितलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो । माघ १७ गते बाँकेको खजुरा गाउँपालिका वडा नं. ४, डीगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो । माघ २९ गते जानकी गाउँपालिका वडा नं. ५, बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया पक्राउ परेका छन् ।
मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताउनुभयो । मनिहारका अनुसार, रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०÷११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।
बाँके खजुराको विकको घरमा राती एक बजे लुटपाट गरिएको थियो । हरिप्रकाश विकका अनुसार, पछाडीपट्टीको ढोकाबाट भित्र प्रवेश गरेका चार जना डाँकाले शुरुमा छोरालाई नियन्त्रणमा लिएका थिए । अर्को छोरालाई बुवा आमा सुतेको कोठाको ढोका खोल्न लगाएका थिए । छोराले मलाई ज्वरो आएको छ ढोका खोल्नु भनेपछि हरिप्रकाशले ढोका खोलेका थिए । ढोका खोल्ने वित्तिकै टोपी र मुख छोपेका व्यक्तिले कन्चटमा पेस्तोल ताकेर पछाडी हात बाँधी दिएका थिए । घरको सबै ठाउँमा खानतलासी गर्दा डाँकाले विकको घरमा एक घण्टा विताएका थिए । अन्तिममा विकको परिवारलाई एउटा कोठामा थुनेर बाहिरीबाट चुक्कुल लगाएर गएका थिए । विकको खजुरा एक नम्बरमा सुन पसल रहेको छ । विकले त्यो दिन आफूसँग धेरै सुन नरहेको बताउनुभयो ।
बाँके प्रहरीले घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयास गरेको छ । बर्दियामा डकैटी गर्दा ६ जना रहेका थिए भने खजुरामा चार जना थिए । अकिल साई भारतीय प्रहरीको मस्टवान्टेड रहेको मनिहारले बताउनुभयो । मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्दामा लागेकाले भारतमा उसका विरुद्धमा आठ वटा मुद्दा रहेको जानकारी दिनुभयो ।
बाँके र बर्दिया सीमावर्ती जिल्ला हुन् । खुल्ला सीमानाको फाइदा उठाउनै यस्ता अपराधीले मौकाको फाइदा लिने गरेका छन् । यी ६ जना भने पेशेवर डाँका रहेको प्रहरीले बताएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिनभरी चल्ला बिक्री गर्दै घरघरमा पुगेर रेक्की गर्ने र रातीमा साथीहरु ल्याएर डकैती गर्ने गरेको बताउनुभयो । उहाँले यी पेशेवर डाँकालाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो ।
यी डाँका टोलीसँग कटुवा पेस्तोल रहेको छ । पेस्तोलको कारोबार गर्ने पनि बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !