बाँकेमा करिव ४२ हजार मतदाता थपिए

नेपालगञ्ज – बाँकेमा करिव ४२ हजार मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा बाँकेमा करिव ४२ हजार मतदाता थपिएको जानकारी दिनुभयो । ‘हामी अहिले जिल्लाको यकिन मतदाता संख्या निकाल्न लागिपरेका छौं, जिल्ला निर्वाचन अधिकारी सुवेदीले भन्नुभयो, ‘साउनदेखि माघ २४ गतेसम्ममा ४२ हजार जिल्लाका र एक हजार बाहिरका मानिसको मतदाता नामावली संकलन भएको छ । बाँकेमा कति बसाई गरेर आउँछन्, कति बसाई सरेर जान्छन्, त्यो निकाल्ने गरिरहेका छौ । ’
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्ममा बसाई सराईसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो । जनशक्ति अभावका कारणले बाँके जिल्लाले त्यो पूरा गर्न सकेको छैन । निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम दु्रतगतिमा भइरहेको जानकारी दिनुभयो ।
२०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १ सय ४२ मतदाता छन् । नयाँ मतदाताको संख्या थपिसकिएको छैन । २०७४ सालको निर्वाचनमा बाँकेमा ३ सय ६५ वटा मतदान केन्द्र थिए । अहिलेसम्म त्यहीलाई कायम गरिएको छ । बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन रोकिएको छ । नयाँ मतदाताको अन्तिम दिनसम्म भीड रहेको थियो । उम्मेदवारका आकांक्षीहरु निर्वाचन कार्यालय आसपासमा देखिएका थिए । निर्वाचन कार्यालय, बाँकेले एक महिनाभित्र यकिन मतदाता संख्या निस्किने बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !