बिपन्नलाई सामुहिक आवास

खजुरा – खजुरा गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएका २१ घर सामुहिक आवासको उद्घाटन गरिएको छ ।
१ करोड ७६ लाख लागतमा निर्माण भएका सामुहिक आवासको नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मूख्य मन्त्री शंकर पोख्रेलले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । खजुरा गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएका सामुहिक आवासमा खजुरा क्षेत्रकै अतिविपन्न परिवार बस्न थालेका छन् । २१ वटा घर मध्ये गत वर्ष निर्माण भएका १६ घरमा विपन्न परिवार बस्न थालेका हुन् ।
सामुहिक आवासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिब पोखे्रलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाउनु भएको छ । चुनाव टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताउदै पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिचकिचाएको बताउनुभयो । जनताको वीचमा जान गठबन्धन सरकार डराइरहेकाले वर्तमान सरकार जनताको काम भन्दा एमालेको विरुद्ध लागिपरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन सरकार बनाउनमै बितेको महासचिब पोख्रेलले बताउनु भयो ।
पोखे्रलले मूल्य वृद्धि अहिलेसम्म कै उच्च विन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेकाले देशमा आर्थिक तरलता बढ्दै जाँदा देश आर्थिक संकटमा पर्ने संकेत देखिएपछि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेको जनाउनु भयो । विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्ने भन्दै महासचिब पोखे्रलले देश अगाडि बढाउन बलियो शक्ति निर्माण गर्न जरुरी भएको भन्दै सामाजिक न्यायको पक्षमा एमाले स्थापित भएको जिकिर गर्नुभयो । सामुहिक आवास निर्माण गरि बिपन्न परिवारलाई हस्तान्तरण गर्नु खजुरा गाउँपालिकाले नमूना काम गरेकामा महासचिब पोखे्रलले बधाई समेत दिनुभयो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले तराई समृद्धि कार्यक्रम अन्तरगत १ विगाहा जमिनमा निर्मित २१ घर निर्माण गरेर विपन्न नागरिकलाई हस्तान्तरण गरिएको बताउनु भयो । १ करोड ७६ लाख बढी लागतमा उक्त सामुहिक आवास निर्माण गरिएको बताउनु भयो । अध्यक्ष कक्षपतिले गाउँपालिकाका सबै विपन्न नागरिकलाई सुरक्षा र जीविकोपार्जनमा गाउँपालिका सारथि बन्दै आएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष कक्षपतिले संघ, प्रदेशको सहयोगमा गाउँपालिका भित्र मदन भण्डारी सभा हल, शीत भण्डार, औद्योगिक ग्राम, खेलकुद ग्राम, मिनी रंगशाला, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी, विश्व विद्यालयका लागि जग्गा उपलब्ध, ग्रीन सिटीको प्रक्रिया अगाडि बढाएको र करीब ८५ किलोमिटर सडक कालोपत्रे लगायतका गौरवका आयोजना संचालनमा रहेको उल्लेख गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !