गाउँपालिकामै छैनन् ट्राफिक

नेपालगञ्ज – बाँकेको पूर्वी–दक्षिणमा पर्छ, नरैनापुर गाउँपालिका । साविकका ६ वटा गाविस मिलेर यो गाउँपालिका बनेको छ । यो गाउँपालिका भारतीय सीमासँग जोडिएको छ ।
‘बघौडा’ नामले चिनिने नरैनापुरलाई जिल्लाको पिछडिएको क्षेत्र मानिन्छ । यो गाउँपालिकामा बाटो र विजुली पुगेको धेरै भएको छैन । डेढ दशक अघि सिधनियास्थित राप्ती नदीमा पुल बनेपछि यो क्षेत्र सदरमुकाम नेपालगञ्ज जोडिएको हो । त्यसअघि यो क्षेत्रमा पुग्न भारतीय बाटो प्रयोग गर्नु पथ्र्यो । नरैनापुर अझै शिक्षा र स्वास्थ्यमा पछाडी रहेको छ ।
नरैनापुरमा मधेसी–मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ । कोरोनाको पहिलो कालखण्डमा यो गाउँपालिका हटस्पट बनेको थियो । बाँकेमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति नै नरैनापुरका थिए । त्यतिबेला नरैनापुरमा चर्चामा रह्यो । विकासको नजरले हेर्दा नरैनापुरमा अझै धेरै पछाडी रहेको छ ।
यो गाउँपालिकामा प्रायः मानिसले भारतीय नम्बरको मोटरसाइकल चढ्छन् । सीमावर्ती भारतीय बजारमा कारोबार हुने, सस्तोमा पाइने र आफन्तीहरु उतै भएकाले सबैजसोको घरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल रहेको छ ।
मोटरसाइकल चालकले हेल्मेट लगाएको पाइदैन । हेल्मेट बिना नै चल्ने मोटरसाइकलमा तीन÷ चार जना बसेका हुन्छन् ।


भारतीय नम्बरको मोटरसाइकल, हेल्मेट नलगाइ चलाउने र अटेको जति मानिस बस्ने नरैनापुरमा ट्राफिक प्रहरीको उपस्थिति शून्य रहेको छ । जहाँ ट्राफिक प्रहरीको बढी आवश्यकता देखिन्छ, त्यही एकजना पनि ट्राफिक प्रहरी छैनन् ।
गाउँपालिकामा एकजना पनि ट्राफिक प्रहरी छैनन् भन्दा अचम्म पनि लाग्न सक्छ । नरैनापुरमा बेलाबेलामा ट्राफिक प्रहरी राख्ने प्रयास गरिन्छ, स्थानीयले विरोध गरेर भगाइदिन्छन् । निर्वाध रुपमा भारतीय नम्बरको मोटरसाइकल चलाउन पाएका स्थानीयले ट्राफिकलाई मन पराउने कुरै भएन । प्रहरीले दरिलो खुट्टा टेकेर ट्राफिकलाई राख्न सकेको छैन । ट्राफिक प्रहरी नभएकाले त्यहाँ चल्ने भारतीय नम्बरका मोटरसाइकल चोरीका हुन् कि होइनन् पत्ता लाग्न सकेको छैन । अपराध गरेर भागेमा त्यसको पहिचान हुने संभावना न्यून रहेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नरैनापुर गाउँपालिकामा ट्राफिक प्रहरी व्यवस्थापन गर्न नसकेको बताउनुभयो । ‘सबैजसो भारतीय नम्बरका मोटरसाइकल हुन्छन् । प्रहरीले बेलाबेलामा जाँच गर्छ, डीएसपी न्यौपानेले भन्नुभयो, ट्राफिक प्रहरी राखेर नियमित चेकजाँच गर्न सकिएको छैन ।’


सीमावर्ती बजारमा केहीबेरका लागि यता र उताको मोटरसाइकल लैजान पाइन्छ । रात बिताउने गरी भारतीय नम्बर प्लेटको सवारी साधन राख्दा भन्सारमा कर तिर्नु पर्छ । नरैनापुरमा चल्ने भारतीय नम्बरका मोटरसाइकल चालकले त्यसरी कानूनी प्रक्रिया पूरा गरेको पाइदैन । प्रहरीले अलि कडाई गर्न थालेमा केहीले रातीमा भारतमा रहेका आफन्तको घरमा राख्छन् । सदरमुकाम नेपालगञ्ज भन्दा सीमावर्ती भारतीय बजारमै उनीहरुको बढी काम हुने भएकाले भारतीय नम्बरको मोटरसाइकल उनीहरुको लागि सहज मानिन्छ । नेपालतर्फ जाँच नै नभएपनि भारतमा एसएसबी र प्रहरीले नेपाली नम्बरको मोटरसाइकल लैजान कडाई गर्ने भएकाले स्थानीय सबैले भारतीय नम्बरको मोटरसाइकल चढ्ने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !