बाँकेमा शक्ति समूहको नयाँ परियोजना

नेपालगञ्ज – मानव बेचबिखन तथा ओसारपसारविरुद्धमा काम गर्दै आएको शक्ति समूहले बाँकेमा नयाँ परियोजना सञ्चालन गरेको छ ।
शक्ति समूहले सोमबार सरोकारवाला निकायलाई नयाँ परियोजनाबारेमा जानकारी दिएको छ । शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बाँकेमा नाकाबाट उद्धार तथा संरक्षण परियोजना सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार, एक वर्षे यो परियोजनाले विद्यालयस्तरमा जनचेतनामूलक गतिविधि गर्ने, विद्यालयलाई कम्प्यूटर प्रदान गर्ने, महिला तथा बालबालिकालाई जोखिममा पर्न नदिने र परेकाको खोजी गर्नेदेखि उद्धार गर्नेसम्मको काम गर्नेछ ।
परियोजनाले बाँकेका पाँच सय विद्यार्थी, तीन सय शिक्षक र अभिभावकलाई मानव बेचबिखन तथा ओसारपसारका बारेमा जानकारी दिनेछ । विद्यालयको छनौट शिक्षा इकाई र नगर शिक्षा शाखासँग समन्वय गर्ने तामाङले बताउनुभयो ।
शक्ति समूह, बाँकेकी संयोजक निर्मला पौडेलले परियोजनाले मनोरञ्जन क्षेत्रमा भइरहेको मानव बेचबिखन, बाह्य बेचबिखन र उच्च जोखिममा रहेका बालबालिकालाई समेटेर काम गर्ने बताउनुभयो । उहाँले विद्यालयमै बालबालिकालाई यौन दुव्र्यवहार, दलाल, बेचबिखन र जोखिमपूर्ण यात्रा, बेचबिखनको बदलिदो स्वरुपबारेमा जानकारी दिने बताउनुभयो ।


नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, जिल्ला समन्वय समितिका संयोजक लोकबहादुर सुनार, नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास शाखाका प्रमुख शोभा शाह, राष्ट्रि मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, डीएसपी मधुसुदन न्यौपाने, हाम्रो सम्मान परियोजनाका कमला पन्त, इन्सेकका सरस्वती मल्ल, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवन बुढालगायतले नयाँ परियोजनाका बारेमा आ–आफ्ना सुझाव दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !