खोप कार्ड बोकेर हिड्नुस है !, नत्र…
नेपालगञ्ज – तपाईले खोप लगाउनु भयो ? खोप लगाउनु भएको छैन भने लगाइहाल्नुस् है । खोप लगाइसक्नु भएको छ भने कार्ड त राख्नु भएकै होला ? यदि खोप कार्ड छैन भने पनि बनाइ हाल्नुस्, फेरि सार्वजनिक स्थलमा जान नपाउनु होला नि । सरकारले शुक्रबारदेखि सेवा लिनका लागि खोप कार्डलाई अनिवार्य गरेको छ ।
पुस ३० गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ३६ बुँदे निर्देशन जारी भएको छ । त्यसलाई टेकेर जिल्ला प्रशासन कार्यालय, बाँकेले १९ बुँदे निर्देशन जारी गरेको छ । त्यसमा माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड अनिवार्य भनिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य रुपमा खोप कार्ड बोकेर हिड्नु पर्ने बताउनुभयो । ‘सेवा लिन आउदा सेवाग्राहीले खोप कार्ड देखाउनु पर्छ । मोबाइलमा खिचेको फोटो देखाएपनि हुन्छ, निमित्त प्रजिअ केसीले भन्नुभयो, खोप कार्ड नदेखाउनेलाई प्रवेशद्वारबाट नै कार्ड लिएर आउन फिर्ता पठाउँछौं ।’
सेवा लिन खोप कार्ड अनिवार्य गर्दा सबै जना खोप लगाउन बाध्यकारी हुनेछन् । खोप नलगाइ बसेका व्यक्तिको संख्या पनि ठूलै छ । बाँकेमा पहिलो डोज ७९ प्रतिशतले र दोस्रो डोज ५४ प्रतिशतले लगाएका छन् । खोप लगाउने काम भइरहेको छ ।
शुक्रबारदेखि अनिवार्य खोप कार्डदेखि मास्क नलगाएकालाई सेवा नदिनमात्रै होइन, कार्यालयहरुले सेनिटाइजर र सावुन पानीको व्यवस्था गर्नुपर्नेछ । विशेष गरेर भीडभाड हुने कार्यालयहरुलाई खोप कार्ड अनिवार्यबारे जानकारी दिन र स्वास्थ्य मापदण्डको पालना भए नभएको हेर्न निमित्त प्रमुख जिल्ला अधिकारी केसीको टोली बिहीबार विभिन्न कार्यालयमा पुगेको थियो । मालपोत, नापी, यातायात कार्यालयमा पुगेको टोलीले निर्देशन जारी गरे अनुसारको व्यवस्था भएको पाएको थिएन । निमित्त प्रजिअ केसीले कार्यालयहरुमा जादा मास्क नलगाएका सेवाग्राही देखिएको, कार्यालयहरुले पनि सेनिटाइजर, साबुनपानीको उचित व्यवस्था नगरेको पाइएकाले सम्झाएको जानकारी दिनुभयो ।
केन्द्रबाट जारी ३६ बुँदे र बाँके प्रशासनले जारी गरेको १९ बुँदे निर्देशनमा खोप कार्ड, मास्क, सेनिटाइनजर, सामाजिक दुरीलगायतका कुरा उल्लेख गरिएको छ ।
बाँकेमा दिन प्रति दिन संक्रमितको संख्या बढ्दो रहेको छ । भारतबाट आउने नेपाली र जिल्लामै पनि संक्रमित बढिरहेका छन् । स्वास्थ्य मापदण्डको पालना, खोपको व्यवस्था गर्न जरुरी देखिएको छ । पहिलो र दोस्रो चरणको जसरी अस्पताल भरिसकेको अवस्था छैन । यद्यपि, कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका व्यक्ति घरघरमै देखिएका छन् ।