जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

डुडुवा – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत सम्पूर्ण जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासंँगै वितरण गरिरहेको हो ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कम्बल, चेवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगञ्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भइरहेको छ ।
बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकलाई एक–एक वटा कम्बल र चावनप्रास वितरण गरि घरैसम्म पु¥याउने गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ चौफेरीका ९५ वर्षिय नन्कइ अहिरलाई न्यानो सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको बताउनुभयो । उहाँले अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्बल र चावनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।
अहिलेसम्म एक हजार एक सय जनालाई उक्त कम्बल वितरण गरिएको छ । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !