बाघको डरले घरभित्रै ‘दिसा–पिसाव’
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. ६, हब्रहवाका रामप्रसाद थारु साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । विहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किदैनन् । राती दिसा र पिसाव लागेमा उनीहरुले भित्रै व्यवस्थापन गर्छन् ।
रामप्रसाद भन्नुहुन्छ, ‘घरबाहिर बाघ आउँछ भन्ने डर हुन्छ । साँझ घरभित्र पसेपछि एकैपटक विहान बाहिर निस्किन्छौं । दिसा, पिसाव लागेमा भित्रै गर्छौ । त्यसका लागि डब्बा राखेका हुन्छौं ।’
हब्रहवाका चाँदनी थारुलाई गत शनिबार दाउरा काट्न जादा बाघको आक्रमणबाट मृत्यु भएको थियो । चाँदनीको शवलाई भोलीपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित भएका छन् ।
हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ । सडकको उत्तरमा जंगल पर्छ । गाउँमै बाघ आएको थाहा पाएपछि हब्रहवामात्रै होइन, सिधनुवा गाउँमा मानिस पनि त्रसित छन् । दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलीपल्ट विहानमात्रै बाहिर निस्किन्छन् । सिधनुवाका कमलाकुमारी चौधरीले रातीमा कोही पनि घर बाहिर ननिस्किने बताउनुभयो । ‘हामीमात्रै होइन, गाउँका कोही पनि रातीमा बाहिर निस्किदैनन्, सबैले घरभित्रै डब्बा राखेर दिसा, पिसाव गर्छौ, कमलाकुमारीले भन्नुभयो, बाहिर निस्किदा बाघले खायो भने त मरिहालिन्छ । दिसा, पिसाव त सफा गरे भइहाल्छ नि ।’
यतिबेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ । सडकका पोलमा बत्ती राखिएको छ । आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने स्थानीयवासीलाई विश्वास लागेको छ । घरबाहिर आगो बाल्ने र मान्छेजति साँझ पर्ने बित्तिकै घरभित्र पस्ने गरिएको छ । स्थानीय फुलरानी थारुले साँझ परेपछि गाउँ सुनसान हुने बताउनुभयो ।
चाँदनीको घरमा छिमेकी कुरुवा बस्न आउँछन् । उनीहरु आउदा समूहमा राँको बालेर आउने गर्दछन् । घर अगाडि धुनी लगाउँछन् । कुरुवा बसेर फर्किदा पनि समूहमा मात्रै राँको बाल्छन् ।
चाँदनी भन्दा केही दिनअघि राप्तीसोनारी गाउँपालिका वडा नं. ४, प्रसेनीका लिला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । लिलाको घर जंगल छेउमै छ । त्यहाँ पनि कुरुवा आउने मानिसहरु समूहमा राँको बालेर आउने र जादा पनि राँको बाल्ने गर्दछन् ।
बाँकेमा बाघको आक्रमणबाट दुई दिनको फरकमा दुई जनाको मृत्यु भएपछि ती गाउँका मानिस त्रसित भएका छन् । नरभक्षी बाघलाई नियन्त्रण गर्नका लागि चितवन र बर्दियाबाट निकुञ्जसम्बद्ध आएका छन् । उनीहरुले हात्तीको प्रयोग गरेर बाघको खोजी गरिरहेका छन् । पछिल्लो तीन महिनामा बाँकेमा बाघले चार जनाको ज्यान लिएको छ ।