५ सय २५ जनाको खोजतलासको निवेदन

नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जमा सन् २०२१ मा ५ सय २५ जनाको खोजतलासको निवेदन परेको छ ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, यो वर्ष ५ सय २५ जनाको खोजतलासको निवेदन परेकोमा २ सय ३ जना फेला परेका छन् ।
माइती नेपालले नेपालगञ्ज नाकामा बसेर जोखिमपूर्ण यात्रामा जान थालेका महिला तथा बालबालिकालाई रोक्ने काम गर्दछ । नेपालगञ्ज नाकाबाट यो वर्ष ४ सय ३४ जनालाई घर फिर्ता गरिएको छ । चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।
विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोजतलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरित भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाई छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्कविहीन भएको भन्दै खोजतलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको छ । यो गर्भासय बेचबिखनको घटना पनि बाहिर आएको छ । यस विषयमा बुझ्ने काम भइरहेको कोइरालाले बताउनुभयो । खोजतलासको निवेदनमा धेरैजसो सामाजिक सञ्जालको प्रयोगबाट जोडिएका छन् । कोइरालाले राज्यस्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट समेत उद्धार गर्न गाह्रो हुने गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !