सहमहामन्त्री राठौरलाई भब्य स्वागत
नेपालगञ्ज – नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलका बीचमा तालमेल गरेर जाने वा नजाने विषयमा यकिन भइनसकेको बताउनु भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा विजय भएपछि पहिलो पटक गृह जिल्ला फर्किएका राठौरलाई नेपालगञ्ज विमानस्थलमा ठूलो संख्याका कार्यकर्ताले स्वागत अभिनन्दन गरेका थिए ।
विमानस्थलमै प्रेस युनियनले राखेको पत्रकार भेटघाटनमा सहमहामन्त्री राठौरले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कसरी जाने भन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवाले मिलाएर लैजाने बताउनुभयो ।
माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभादेखि अन्य निर्वाचनसम्म नै गठबन्धनका बीचमा तालमेल गरेर अघि बढ्ने बताइरहदा कांग्रेसका सहमहामन्त्री राठौरले यस विषयमा यकिन भइनसकेकाले जे पनि हुन सक्ने बताउनुभयो ।
सहमहामन्त्री राठौरले एमसीसी राष्ट्रिय सहमतिबाट मात्रै पास हुने बताउनुभयो । ‘नेपालको हितका लागि एमसीसी ल्याएका हो । यसमा केही कमी कमजोरी छ भने त्यसलाई हटाएर अघि बढ्नु पर्छ, राठौरले भन्नुभयो, एमसीसी सबैको सहमतिबाटै पारित गर्नुपर्छ ।’
पुस २७ गते बाँके कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ । बर्दिया निवासी सहमहामन्त्री राठौरले बाँकेको नेतृत्व सर्वसम्मत गर्न प्रयास गर्ने बताउनुभयो । बाँकेमा संस्थापन पक्षका ६ जनाले सभापतिका लागि दावी गरेका छन् । डा. शेखर कोइराला पक्षबाट एक जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । राठौरले सर्वसम्मत पार्टी सभापति चयन गर्ने उद्घोषले संस्थापनका ६ जनामध्ये कसलाई चिठ्ठा पर्छ हेर्न बाँकी रहेको छ । राठौरले कुनै पनि हालतमा सर्वसम्मत हुन नसकेमा चुनावी प्रक्रियामै जाने बताउनुभयो ।
सहमहामन्त्रीसँगै काठमाडौंबाट गृह जिल्ला आएका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीलाई पनि नेपालगञ्ज विमानस्थलमा स्वागत गरिएको छ । सुशील कोइरालापछि बाँकेले बाल्मिकीलाई केन्द्रीय सदस्यको रुपमा पाएको छ ।
सहमहामन्त्री राठौरलाई लिन बर्दियाबाट ठूलो संख्याका नेता तथा कार्यकर्ताहरु नेपालगञ्ज विमानस्थलमा पुगेका थिए । विमानस्थलका सुरक्षाकर्मीले ठूलो भीडलाई नियन्त्रण गर्न सकेका थिएनन् । शुरुमा धावनमार्ग जाने च्यानलगेटमै रोकिएका कार्यकर्ताले धकेलेर गेट खोलेर भित्र पसेका थिए । ठूलो संख्यका कार्यकर्ताका बीचमा एकजना प्रहरी निरीह देखिएका थिए ।