नेपाल र भारतका अधिकारीका बीच सीमामा हुने अपराध नियन्त्रण गर्ने प्रतिबद्धता
नेपालगञ्ज – नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।
बुधबार अपरान्ह नेपालगञ्जमा भएको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागु औषधी नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतमा सहज रुपमा कारोबार हुँदा लागु औषधी नेपालमा सहजै भित्रिएको बताउदै त्यसमा कडाई गरिदिन आग्रह गरेको बताउनुभयो । उहाँले हात हतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागु औषधी रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा भारतीय अधिकारीले उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए ।
नेपालको तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका एसपीको सहभागिता रहेको थियो । पश्चिम नवलपरासीका प्रजिअ धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरीका एसपी मनोजकुमार यादव, सशस्त्रका एसपी महेश अधिकारी र अनुसन्धान विभागका एसपी टिकाप्रसाद पोखरेल, रुपन्देही जिल्लाका प्रजिअ ऋषिराम तिवारी, सशस्त्रका एसपी शंकर खनाल, अनुसन्धानका एसपी सुशान्त बराल, प्रहरी निरीक्षक नविन पोखरेल, कपिलबस्तु जिल्लाका प्रजिअ चक्रपाणी पाण्डे, सशस्धका एसपी दानबहादुर कार्की, अनुसन्धानका एसपी योगेन्द्र केसी, प्रहरीका डीएसपी गोपालप्रसाद श्रेष्ठ, दाङ जिल्लाका प्रजिअ हिरालाल रेग्मी, एसपी सुरेश काफ्ले, सशस्त्रका एसपी टोपबहादुर खनाल, अनुसन्धानका एसपी अर्जुन भण्डारी, बाँकेका प्रजिअ सूर्यबहादुर खत्री, एसपी श्यामकृष्ण अधिकारी, सशस्त्रका एसपी अशोक बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, बर्दियाका प्रजिअ सन्तबहादुर सुनार, एसपी ईश्वर कार्की, सशस्त्रका एसपी नरबहादुर रावत, अनुसन्धानका एसपी प्रज्वल खड्का, कैलालीका प्रजिअ किरण थापा, एसपी विश्व अधिकारी, सशस्त्रका एसपी दिपेन्द्र कुँवर, अनुसन्धानका रमेश सिंह, कञ्चनपुर जिल्लाका प्रजिअ रामप्रसाद पाण्डे, एसपी उमाप्रसाद चतुर्वेदी, सशस्त्रका एसपी वीरेन्द्रबहादुर ऐर र अनुसन्धानका एसपी कमलप्रसाद भट्टराई सहभागी हुनु भएको छ ।
बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआइजीको सहभागिता रहेको थियो ।