फेरिएको नेताको चरित्र

२०२० सालतिर हामी युवावयमा थियौँ । त्यतिबेला राजनीतितर्फ आकर्षित हुने कारणमध्ये नेताको बानी, व्यवहार र चरित्र हुने गथ्र्यो । नेतृत्वमा रहने व्यक्तित्वको स्वभावले पनि धेरै प्रभाव पाथ्र्याे । नेताहरूलाई भेट्दा उनीहरूबाट प्रदर्शित हुने सरल व्यवहार र प्रस्तुतिले उनीहरू जस्तै बन्न हामीलाई प्रेरित गथ्र्यो । कुनै पनि राजनीतिक दलका कार्यकर्ता बन्ने र पार्टीप्रति लाग्ने कुरा प्रारम्भमा सिद्धान्तभन्दा पनि व्यवहारले निर्धारण गर्छ । सिद्धान्त पढेर मात्रै कुनै पनि व्यक्तिले राजनीतिक दल छान्दैन । त्यो विचार बोक्ने समूह कस्तो छ, त्यसका नेता कस्ता छन्, उनीहरूको व्यक्तित्व, व्यवहार र चरित्र कस्तो छ भन्ने हेरेर मात्रै निर्णय गर्छ ।
त्यो राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उथलपुथलको युग थियो । पुराना मूल्य र मान्यताहरू बिस्तारै भत्किँदै थिए । नयाँ–नयाँ विचारहरूले आकार लिँदै थिए । हामी स्कुलमा पढ्दा सम्पर्कमा आउने त्यतिबेलाका टाठाबाठा अगुवाहरूले आफू अनुकूलका बिम्वहरू प्रयोग गर्ने गर्थे । वामपन्थीहरूले माओत्सेतुङ, चाउएनलाइ, होचिमिन, चे ग्वेभारा, काल्र्स माक्र्स, एङ्गेल्सको चरित्र र जीवन सुनाउने गर्थे । उनीहरूले त्यस्ता पुस्तक पढ्न दिन्थे । हामीलाई पनि उनीहरूजस्तै बन्ने उत्साह भर्थे । जसको प्रभाव अलि ठूलो हुँदै गएपछि राजनीतिक ज्ञानमा परिणत भयो । यी विचारसित सरोकार राख्ने नेताहरूलाई भेट्ने र उनीहरूको कुरा सुन्ने जिज्ञासा पलाउन थाल्यो । सोही अनुरूप जो–जो नेताहरूसित सम्पर्क भयो, उनीहरूको चरित्रलाई हेर्दा आजका नेताहरूको चरित्रसित पटक्कै मेल खाँदैन ।
पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, सिद्धिलाल श्रेष्ठ, नारायणमान विजुक्छे, शम्भुराम श्रेष्ठ, मदन भण्डारी, जीवराज आश्रितका व्यवहारहरू ज्यादै सरल र ग्राह्य थिए । सामान्य भेटघाटमा व्यक्तिसित प्रस्तुत हुने उनीहरूको शैली र स्वभाव सामान्य खालको थियो । राजनीतिक आस्थाको दृष्टिकोणले भने उनीहरू निकै कट्टर थिए ।
उनीहरूको रहनसहन पनि सामान्य किसिमको मात्रै देखिन्थ्यो । उनीहरूको बसाइँ र खानपिनको स्तर हेर्दा एउटा मध्यम वर्गीय परिवारको जस्तो मात्र लाग्थ्यो । आफ्ना समग्र कार्यकर्ताप्रति उनीहरू माया र सहानुभूति दर्शाउँथे । सामान्य अवस्थामा हेर्दा सम्पत्ति आर्जनको मोह, लोभभन्दा टाढा देखिन्थे । त्यतिबेला अध्ययनलाई बढी प्राथमिकता दिइन्थ्यो । विश्वका वामपन्थी लेखकहरूबाट लेखिएका पुस्तक पढ्न प्रेरित गर्थे । आफू पनि छलफल र चर्चामा सामेल हुन्थे । नजानेको कुरा स्वीकार्थे, सिक्ने र सिकाउने स्वभाव थियो ।
मैले राजनीतिलाई धेरै नजिकबाट नियालँे । नेताहरूको गतिविधि र स्वभाव छुट्याउन सक्ने भइसकेको थिएँ । २०२२ देखि २०२५ सालतिर नेताहरू सरल थिए । वाम मात्रै होइन, प्रजातान्त्रिक विचार राख्ने नेताहरू पनि यस्तै स्वभावका थिए । खर्चमा मितव्ययिता, बोलीमा मिठास, चारित्रिक शुद्धता र सैद्धान्तिक ज्ञानजस्ता कुराले उनीहरूप्रति श्रद्धा जगाउँथ्यो । यिनै कुरा हेरेर युवाहरू राजनीतिमा आकर्षित हुन्थे । राजनीतिमा लाग्नु इमान र निष्ठाको कुरा थियो । पार्टी नेतृत्वमा पुग्न यिनै कुराको मूल्याङ्कन गरिन्थ्यो । २०४६ सालपछिको खुला राजनीतिक परिवेश सुरु हुँदासम्ममा यसप्रकारको चरित्रमा गिरावट आउन थालिसकेको थियो । बहुसङ्ख्यक वामपन्थीको भरोसा बनेको एमाले २०५१ सालमा सत्तामा पुगेपछि यो गिरावटको क्रम अझ बढ्दै गयो ।
यहाँ एउटा प्रसङ्ग जोडाँै । २०५१ सालमा नेकपा एमाले सरकारमा आउने निश्चित भएपछि पार्टी बैठक बसेको थियो । त्यो बैठकमा सरकारमा गएर गर्ने कामको कुनै ठोस योजना बनेन । पछि सुनियो, सरकारमा गएपछि विभिन्न परियोजनाबाट वैध रूपमा आउने कमिसन राज्यकोषमा जम्मा गर्ने कि पार्टीको कोषमा राख्नेबारे लामै छलफल चलेछ । पार्टी कोषमा राख्नुपर्छ भन्नेहरू धेरै भएछन् । मलाई लाग्छ, त्यहीँबाट एमालेभित्र अर्थ आर्जन गर्ने लालसा पलाउन थाल्यो । जसको नकारात्मक प्रभाव आजको दिनमा देखिएको छ । राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति, कूटनीतिक नियोगमा देखिने नियुक्तिहरूमा हुने पैसाको चलखेल त्यसैको परिणाम हो भन्ने मेरो बुझाइ रहँदै आएको छ ।
वि.सं. २०५३÷५४ हुँदै २०७७ सालसम्म आइपुग्दा विकृतिहरू पार्टीको तल्लो तहसम्म पुगिसकेका छन् । पार्टीलाई सर्वेसर्वा मानेर आफ्नो व्यक्तिगत स्वार्थ र घरपरिवारलाई गौण मान्ने आदर्शको अन्त्य भइसकेको छ । आज तल्लोदेखि माथिल्लो तहसम्मका कार्यकर्ताको सोच पैसा कमाउनु र सुविधामुखी हुुनुमा सीमित छ । न सङ्गठनहरूमा आबद्ध हुने व्यक्तिलाई राजनीतिक शिक्षा दिइन्छ, न त आदर्श र नैतिकतामा रहन सिकाइन्छ । उल्टै त्यसको साटो नेताजीहरू ‘मौकामा चौका हान्नु पर्छ’ भन्ने उपदेश दिन पछि पर्दैनन् । जबकि, अधिकांश पुराना नेताहरूको कुरा गर्ने हो भने मध्यम वर्गमा जन्मिए पनि उनीहरूको जीवन कष्टकर र जीवनयापन गर्न अप्ठेरो परेको हामीले देखेका छौँ । अर्कोतिर एकाएक पार्टीभित्र देखा परेका व्यक्तिहरू ‘दिन दुई गुना, रात चार गुना’ आर्थिक उपार्जनमा लागेको देखिन्छ । पुराना कार्यकर्ताहरू अहिले पनि घरव्यवहार चलाउने चिन्तामा छन् । यो परिस्थितिले पुराना कार्यकर्ताले आफ्नै घरपरिवारमा सम्मान गुमाउने स्थिति बनेको छ । यस्तो गुनासाहरू गर्ने मेरा थुप्रै साथीहरू छन् ।
धेरैजसो राजनीतिक दलमा उच्च र मध्यम तहका नेताहरूमा अहिले काठमाडौँमै बस्नुपर्ने सोचको विकास भइरहेको छ । आफ्नो कार्य क्षेत्र र निर्वाचन क्षेत्रमा निर्वाचनका बेला दुई÷तीन महिना आएर बस्ने र चुनाव जितेर काठमाडौँमा पाँच वर्ष बिताउने धेरै नेताहरू छन् । अर्कोतर्फ दलभित्रका गुट र उपगुटका कारण आफ्नो व्यक्तिगत भलो चाहने प्रत्येक कार्यकर्ता कुनै न कुनै नेताका पछि लाग्न बाध्य छन् । आफ्नो सोझो सम्पर्क रहेका कुनै नेता नभए उसको राजनीतिक भविष्य अन्धकार हुने अवस्था छ । पार्टी वा संसदीय चुनाव, राजनीति महँगो भइसकेको छ । ती मोर्चामा पैसा खर्च गर्न नसक्ने कार्यकर्ता स्वभाविक रूपले किनारा लाग्ने स्थिति छ ।
नेताहरूको यस प्रकारको व्यवहार र क्रियाकलापले कार्यकर्ताहरूमा दासता र चाटुकारिताको चरित्र विकसित हुँदै गएको छ । चाकरी र चाप्लुसी यो हदसम्म व्याप्त छ कि यसबाट मुक्त हुन चाहने मानिसको कुनै पनि दलमा सम्भावना छैन । बरू उनीहरूको पछि लाग्दा–लाग्दा आफैँप्रति घृणा लाग्ने स्थिति सिर्जना हुन्छ । पार्टीलाई दरिलो बनाउन चाहने हो भने नेपालका प्रत्येक राजनीतिक दलका नेताहरूमा व्याप्त यो प्रवृत्तिलाई जतिसक्दो छिटो समाप्त गर्न जरुरी छ । अन्यथा, यो स्थिति लामो समयसम्म रह्यो भने नेपालका दलहरू नेताहरूका निजी कम्पनीजस्ता हुनेछन् । जहाँ, नेता र कार्यकर्ताबीच मालिक र कामदारको जस्तो व्यवहार हुनेछ । पार्टीहरू दास उत्पादन गर्ने कारखाना बन्नेछन् ।
नेपाली राजनीतिमा पैसा र पहुँचको सधैँ चलखेल भइरहन्छ । फलस्वरूप सर्वसाधारण व्यक्ति र पार्टी कार्यकर्ताको सामान्य काम पनि बिना लेनदेन वा पहुँचमा नियमित प्रक्रियाबाट हुँदैन । एकपटकको कुरा हो, नेकपा एमाले २०५१ सालमा सरकारमा गएपछि एउटा व्यापारी टोली मलाई भेट्न घरमै आइपुग्यो । सम्पर्क सूत्र खोज्दै उनीहरू मकहाँ आएका रहेछन् । दूर सञ्चारसँग सम्बन्धित एउटा लाइसेन्स निकाल्न उनीहरूले मन्त्रीसँग सम्बन्ध बढाउन चाहेका थिए । त्यसका लागि मलाई ठूलो रकमको प्रलोभन पनि दिइयो । त्यसबापत नेतालाई भेटाइदिने र लाइसेन्स निकाल्ने प्रक्रियामा सघाउनुपर्ने सर्त थियो । टोलीमा मेरा मित्र ठाकुरसिंह थारु र पुरनसिंहहरू थिए । सिंह कृषि विकास बैंकका पूर्वमहाप्रबन्धक भइसकेका व्यक्ति हुन् । श्रीमती किरण पनि मसँगै थिइन् । उनीहरूले लाइसेन्स मिलाउनका लागि नेतासँग सम्पर्क गरिदिन अनुरोध गरे । मैले यस्तो सम्भव छैन, एमालेको सरकार छ, घूस खाएर काम हुने जमाना अब रहेन भनिदिएँ । उनीहरू निराश भएर मकहाँबाट गए । पछि उनीहरूले अर्को सम्बन्ध सूत्र खोजेर लाइसेन्स लिएको कुरा मेरो घरमै आएर ठाकुरसिंहले मलाई सुनाए । कमिसनबापत आउने त्यति ठूलो रकम नलिएको भन्दै उनी मलाई दुई÷चार कुरा सुनाएर गए । ‘तैले त्यति पनि गर्न सकिनस्, हामीले गरेर आयौँ’ भन्ने शैलीमा उनी प्रस्तुत भएको अहिले पनि याद आइरहन्छ । उनीहरूको कुरा सुनेपछि म बोल्न सकिनँ । जुन कुराको मलाई विश्वास थिएन, त्यही कुरा आफ्नै दलका नेता र मन्त्रीबाट भयो भन्ने सुन्दा मलाई अहिले पनि बडो दुःख लाग्छ ।

(क्रियटिभ बुक्सले प्रकाशन गरेको प्रा.डा. जनार्दन आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तकबाट ।)


error: यो सुविधा उपलब्ध छैन !