जर्सापको पासमा कर्सापको गोल

नेपालगञ्ज – नेपाली सेना र रोयल नेपालगञ्ज फुटबल क्लवका बीचमा मैत्रीपूर्ण फुटबल खेल भएको छ ।
नेपालगञ्ज रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले एउटा टीम र अर्को टीमको नेतृत्व रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले गर्नु भएको थियो ।
६० मिनेट खेलिएको मैत्रीपूर्ण फुटबलमा युवाहरु थाकेर परिवर्तन भइरहदा उपरथी शाही पुरै समय खेल्नु भयो । उपरथी शाही मंसीर ४ गते नेपालगञ्जमा भएको नेपालगञ्ज म्याराथनमा २१ किलोमिटर दौडिनु भएको थियो ।


उपरथी शाही, प्रमुख सेनानी जनमत कार्की, मेजरहरु दीप श्रेष्ठ, पुकार शाहको ‘मुभ’ लोभ लाग्दो थियो । यी पुराना फुटबलरले शनिबार विहान नेपालगञ्ज रंगशालामा आफ्नो कला देखाउनुभयो । उपरथी शाहीको सटिक पासमा प्रमुख सेनानी (कर्साप) कार्कीको गोल उत्कृष्ट रह्यो । खेल भने सूर्यमणि अधिकारीले नेतृत्व गरेको रोयलले जित्यो । रोयलका लागि अमृत श्रेष्ठले दुई र ज्ञानमणि अधिकारीले एक गोल गर्नु भएको थियो ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीले ‘सहयोग’ गर्दा नेपालगञ्जमा खेल गतिविधिले तिब्रता पाएको छ । दुई वर्षदेखिको झारले ढाकिएको रंगशालाको सरसफाई भैरवप्रसाद गणले नै गरेको थियो । नेपालगञ्जको कभर्डहलमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले कर्सापको सहयोगले नेपालगञ्जमा खेल गतिविधिले तिब्रता पाएको बताउनुभयो ।
मैत्रीपूर्ण फुटबल हुँदा श्री ४ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !