बाँकेमा ५३ प्रतिशतले पहिलो र ३६ प्रतिशतले दोस्रो डोज खोप लगाए

नेपालगञ्ज – बाँकेमा ५३ प्रतिशतले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । दोस्रो डोज लगाउने ३६ प्रतिशत रहेका छन् ।
जिल्लामा ६ लाख १५ हजार ७ सय २८ जना रहेकोमा एक लाख ८८ हजार ४ सय ५१ जनाले पहिलो खोप लगाएका छन् । जिल्लामा अब पहिलो डोज लगाउन बाँकी एक लाख ६३ हजार २ सय १२ जना रहेका छन् ।
पहिलो र दोस्रो कोरोना लहरमा ‘हटस्पट’ बनेको बाँकेमा प्राथमिकताका साथ खोप लगाउने काम भइरहेको छ ।
जनस्वास्थ्य अधिकृत एवं कोभिड हिरो नरेश श्रेष्ठका अनुसार, जिल्लामा ३६ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् । जिल्लामा एक लाख २६ हजार ८ सय २० जनाले दोस्रो डोज खोप लगाइसकेका छन् । ६१ हजार ६ सय ३१ जनाले दोस्रो खोप लगाउन बाँकी रहेको छ । बाँकेमा १८ वर्ष माथिका ३ लाख ५१ हजार ६ सय ६३ जना रहेका छन् ।
पालिका अनुसार हेर्दा नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो डोज ५८ प्रतिशतले लगाएका छन् भने दोस्रो डोज लगाउने ५५ प्रतिशत रहेका छन् । कोहलपुर नगरपालिकामा ६२ प्रतिशतले पहिलो र ४३ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।
बैजनाग गाउँपालिकामा ५० प्रतिशतले पहिलो र ४१ प्रतिशतले दोस्रो डोज लगाएका छन् । डुडुवा गाउँपालिकामा पहिलो डोज ४६ प्रतिशत र दोस्रो डोज २२ प्रतिशत, जानकी गाउँपालिकामा पहिलो डोज ४७ प्रतिशत र दोस्रो डोज २६ प्रतिशत, खजुरा गाउँपालिकामा ५७ प्रतिशत र दोस्रो डोज ३२ प्रतिशत, नरैनापुर गाउँपालिकामा पहिलो डोज २७ प्रतिशत र दोस्रो डोज १६ प्रतिशत, राप्तीसोनारीमा पहिलो डोज ५० प्रतिशत र दोस्रो डोज दुई प्रतिशतले लगाएका छन् । राप्तीसोनारीको दोस्रो डोज लगाउनेको पछिल्लो तथ्यांक अपडेट भइसकेको छैन ।
बाँके लुम्बिनी प्रदेशमा बढी खोप लगाउनेमा तेस्रो स्थानमा परेको छ । स्वास्थ्य अधिकृत श्रेष्ठले अब खोप लगाउने मानिसले इच्छाएको खोप लगाउन पाउने बताउनुभयो । स्वास्थ्य अधिकारीले खोपको कभरेज ६६ प्रतिशत पु¥याउन निर्देशन दिएको छ । खोपको कभरेज नरैनापुरमा कम भएकाले त्यहाँ फोकस गर्ने श्रेष्ठले बताउनुभयो । श्रेष्ठले माघदेखि बच्चालाई लगाउने नियमित खोप जसरी कोरोनाको खोप लगाउने जानकारी दिनुभयो ।
नेपालगञ्ज नाकामा भारतबाट आउनेलाई उसले उता जुन खोप लगाएको छ, त्यही खोपको व्यवस्था गर्ने तयारी भएको छ । अहिलेसम्म हेर्दा भारतमा कोभिशिल्ड पहिलो डोज लगाउने र नेपालमा आउदा कोभिशिल्ड नभएर भेरोसेल राख्दा ती मानिसहरु दोस्रो डोज लगाउन छुटेका थिए । अब नाकामा कोभिशिल्ड र भेरोसेल पर्याप्तमात्रामा राख्ने श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !