जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी

नेपालगञ्ज – नेपाली कांगे्रस बाँकेको नेतृत्व लिन आधा दर्जन नेताले इच्छा देखाएका छन् ।
संस्थापन र संस्थापन इतर समूहका नेताहरु सभापतिका लागि आफ्नो माहोल बनाउने कसरतम जुटिसकेका छन् ।
बाँकेमा संस्थापन समूहबाट पाँच जना सभापतिको दौडमा देखिएका छन् । प्रदेश मन्त्री सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा सभापतिको आकांक्षी रहेका छन् । संस्थापन इतर समूहबाट नारायण गौडेलको नाम अगाडि आएको छ ।
संस्थापन समूहमा एक जना उम्मेदवार मिलाउन सकस नै हुने देखिएको छ । पाँच जनामध्ये कुर्मीले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । कुर्मीले आफू शेरबहादुर देउवाको उम्मेदवार रहेको दावी गर्नु भएको छ ।
संस्थापन समूह मिलेर आउदा यसपाली सभापति हुत्याउने अवस्था देखिन्छ । जिल्लाका आठ वटा पालिकामध्ये पाँच वटा पालिकामा संस्थापन पक्ष हावी देखिएको छ । क्षेत्रीय सभापतिमा पनि संस्थापन पक्षले दुई क्षेत्रमा जित्दा संस्थापन इतर समूहले एक क्षेत्रमात्रै जितेको छ ।
कांग्रेसको जिल्ला निर्वाचन १४ गते मंगलबार हुँदैछ । त्यसका लागि सोमबार मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । दुवै समूहले सोमबार विहानसम्म उम्मेदवार टुंगो लगाउनु पर्ने बाध्यता रहेको छ ।
कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला रहदासम्म बाँकेमा कोइराला पक्ष हावी रहेको थियो । अहिले पालिका र क्षेत्रको निर्वाचनको परिणाम हेर्दा कोइराला समूह अलि कमजोरजस्तो देखिएको छ । यद्यपि, जिल्लाको निर्वाचन हेर्न बाँकी नै रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !