कडा सुरक्षा घेरामा क्षेत्र नं. २ मा मतदान शुरु
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को मतदान शुरु भएको छ ।
नेपालगञ्जको भेरी प्राविधिक शिक्षामा कडा सुरक्षा घेरामा मतदान शुरु भएको छ । एउटाको मत अर्को व्यक्तिले हाल्ने विषयमा भएको विवाद नमिलेपछि विधान अनुसार प्रक्रिया अघि बढाइएको छ । विधानमा विरामी, अशक्तको हकमा उसले इच्छाएको व्यक्तिले निर्वाचन अधिकृतको रोहबरमा मतदान गर्ने उल्लेख गरिएको छ ।
क्षेत्र नं. २ मा ४ सय ४८ मतदाता रहेका छन् । वीरेन्द्रबहादुर शाह र रमेश गुप्ता प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् । दुवै जना संस्थापन समूहका हुन् । संस्थापन इतर समूहले शाहको प्यानललाई समर्थन गरेको छ ।
डुडुवाका एक सय तीन जना मतदाताले आफै मत हाल्दा रद्द हुने भन्दै गुप्ता समूहले पाँच जना बराबर अर्को एक जनाले मत हाल्न पाउनु पर्ने भन्दै बिहीबारदेखि अडान राखेको थियो । शाह पक्षले त्यसलाई अस्वीकार गर्दै आएको थियो । निर्वाचन अधिकारी अन्ततः विधान अनुसार नै प्रक्रिया अघि बढ्ने भनेपछि मतदान शुरु भएको छ ।
यसैबीच, क्षेत्र नं. १ मा बिहीबार नै सम्पन्न भएको निर्वाचनको आज मत गणना हुँदैछ । ६ सय ५ जनामा ६ सय १ जनाले मतदान गरेका छन् । क्षेत्र नं. १ मा संस्थापन पक्षबाट माधवराम खत्री र संस्थापन इतर समूहबाट पोषण केसी सभापतिका उम्मेदवार रहेका छन् ।