ग्याँस बोकेको बुलेटले जर्साप सवार गाडीलाई ठक्कर दियो
नेपालगञ्ज – ग्याँस बोकेको बुलेटले नेपाली सेनाका सहायक रथी (जर्साप) सवार गाडीलाई ठक्कर दिएको छ ।
नेपालगञ्जको कारकादो नजिकै एचआर ५५ एस ६९०३ नम्बरको बुलेटले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक सवार प्रदेश ३०१–००२ घ ५२६२ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।
सहायक रथी पाठक नेपालगञ्जमा चिकित्सकलाई भेटेर ब्यारेक फर्किरहनु भएको थियो । उहाँलाई कुनै चोट लागेको छैन । बुलेटको ठक्करबाट सहायक रथी सवार गाडीमा क्षति पुगेको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिनुभयो । ‘नेपालगञ्जमा चिकित्सकलाई भेटेर फर्किनु भएका जर्साप सवार गाडीलाई ग्याँस बोकेको बुलेटले ठक्कर दिएको छ, प्रमुख सेनानी कार्कीले भन्नुभयो, जर्सापलाई कुनै चोट लागेको छैन । गाडीमा क्षति भएको छ ।’
कुकुरले बाटो काटेपछि हल्का स्लो गरिएको सेनाको गाडीलाई बुलेटले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्चार्ज ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।