क्षेत्र नं. ३ निर्विरोध, अरु दुई क्षेत्रमा प्यानलगत उम्मेदवारी

नेपालगञ्ज – बाँकेको क्षेत्र नं. ३ मा लक्की खाँ निर्विरोध क्षेत्रीय सभापति चयन भएका छन् ।
संस्थापन समूहका खाँको विरुद्धमा अर्को कोहीले पनि उम्मेदवारी नदिएपछि खाँ निर्विरोध क्षेत्रीय सभापति भएका हुन् ।
संस्थापन इतर समूहले क्षेत्रीय सभापतिमा उम्मेदवार उठाउने कोसिस गरेपनि अन्तिममा कोहीलाई पनि अघि सारेको थिएन ।
खजुरा गाउँपालिकाका सभापति रमेश सिजालीले अर्को व्यक्तिको उम्मेदवारी नपरेपछि खाँ निर्विरोध क्षेत्रीय सभापति भएको जानकारी दिनुभयो । क्षेत्र नं. ३ बाट सभासद् आशा विक र पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ पनि निर्विरोध प्रतिनिधि चयन भएका छन् । विक दलित महिला र श्रेष्ठ जनजातिबाट निर्विरोध प्रतिनिधि भएका हुन् ।
क्षेत्र नं. ३ मा अरु पदमा भने चुनावी प्रतिस्पर्धा हुने भएको छ ।


जिल्लाका अन्य दुई क्षेत्रमा संस्थापन र संस्थापन इतर समूहको प्यानलगत उम्मेदवारी परेको छ । संस्थापन र संस्थापन इतर पक्षले प्यानल नै बनाएर आ–आफ्ना उम्मेदवारलाई जिताउन लागि परेका छन् । बाँकेको क्षेत्र नं. १ मा संस्थापनबाट माधवराम खत्री र संस्थापन इतरबाट पोषण केसीले सभापतिमा उम्मेदवारी दिएका छन् । ६ सय बढी मतदाता रहेको क्षेत्र नं. १ मा क्रियाशील सदस्यताको लामो विवाद थियो ।
संस्थापन पक्षका उम्मेदवार खत्रीले तेस्रो कार्यकालका लागि अगाडि आउदा संस्थापन इतरका केसी आक्रमक ढंगले प्रस्तुत भएका छन् । क्षेत्र नं. १ मा संस्थापन र संस्थापन इतर समूह प्रतिष्ठाको लडाईमा लागेका छन् ।
क्षेत्र नं. २ मा संस्थापन समूहकै दुई प्यानलको चुनावी प्रतिस्पर्धा हुने भएको छ । संस्थापन समूहबाट वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । दुवै संस्थापन पक्षका रहेकाले मतदातालाई आफूतिर तान्न जिल्लाका नेताहरु लागि परेका छन् । संस्थापन इतरको उम्मेदवार नरहेकाले शाहलाई मत दिने तयारीमा रहेका छन् ।


बाँकेमा यसपाली संस्थापन पक्षले च्यापेर अगाडि बढेको छ । साम, दाम, दण्डभेद सबै उपाय अपनाएर मतदातालाई प्रभावित पारेको असन्तुष्ट नेताहरु बताउँछन् । सुशील कोइरालाको गृह जिल्लामा अहिलेको निर्वाचनमा कोइराला पक्ष कमजोर बन्दै गएको देखिएको छ । जिल्लाका आठ वटा पालिकामध्ये कोइराला पक्षले तीन वटामा मात्रै जितेको छ । संस्थापन पक्षले पाँच वटा पालिकामा जित निकालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !