जुसको बट्टामा कोरेक्स
नेपालगञ्ज – सुर्खेतका बबिन शाही नेपालगञ्जमा लागु औषधी कोरेक्स र नाइट्रोभेटसहित पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहा नजिकबाट प्रहरीले शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय शाही लागु औषधी कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । रियल जुसको पट्टाभित्र राखेर कोरेक्स ल्याएका थिए । रुपैडिहाबाट शाही हिड्दै नेपालगञ्ज प्रवेश गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको जमुनाहा प्रहरीले बताएको छ ।
शाही यातायात समितिका कर्मचारी रहेको बुझिएको छ । सहजै आवतजावत हुने भएकाले यस क्षेत्रका लागु औषधी कारोबारीहरु सहजै रुपैडिहा पुगेर लागु औषधी बोक्ने गरेको पाइन्छ ।