नेपालको विदेश नीति

वि.सं. १७६९ मा नेपालको एकीकरणपश्चात् राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक बाध्यतालाई बुझी दुवै छिमेकीबारे निकै मिठो र सान्दर्भिक अभिव्यक्ति दिएका थिए, ‘दक्षिणतर्फ सतर्क रहनु, हिन्दुस्तान दबाई राखेको छ । उत्तरतिरको बादशाहसँग सतर्क रहनु ।’ यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण रहेको छ ।
पृथ्वीनारायण शाहको यो भनाइ केही वर्षसम्म नेपालको विदेश नीतिको मूल आधार बन्यो । प्राचीन र मध्यकालमा नेपाल एउटा स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न स्थापित राष्ट्र बनिसकेको थियो । जतिबेला भारत विभिन्न स–साना राजा–रजौटाबाट शासित थियो । मध्यकाल आइपुग्दा नपुग्दै आपसी कलहकै कारण नेपाल पुनः स–साना टुक्रामा विभाजित हुन पुग्यो । अठारौँ शताब्दीको मध्यतिर आइपुग्दा गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरण अभियानमा देश पुनः एकीकरण भयो । उनले स–साना राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको निर्माण गरे । उनीपछि उनका उत्तराधिकारीहरूले पनि ३४ वर्ष (वि.सं. १७७५–१८०८) को अवधिमा नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा सतलजसम्म पु¥याए । यो राज्य कालान्तरमा एक सबल र शक्तिशाली पहाडी राज्यका रूपमा स्थापित भयो ।
भारत बेलायती उपनिवेश बन्नुअघि स–साना राज्यमा विभाजित भयो । त्यहाँका राजा–रजौटाहरूको आपसी मनमुटाव र वैरभावलाई उपयोग गरेर १६ औँ शताब्दीको प्रारम्भमा भारतमा अङ्ग्रेजहरूको आगमन भयो । अङ्ग्रेजहरूसँग नेपालको सम्बन्ध सुमधुर रहेन । त्यसैले उनीहरू नेपालमाथि आफ्नो प्रभुत्व जमाउन चाहन्थे । यही क्रममा नेपालसँग पटक–पटक स–साना युद्धहरू भए । सन् १८१६ मा नेपालले अङ्गे्रजसँग सन्धि ग¥यो । अर्कोतर्फ चीन (तिब्बत) सँग पनि प्राचीनकाल (१७८८–१७९१) देखि नै साना–ठूला युद्धहरू भए ।
युद्ध रोक्न चीनको मध्यस्थतामा भएको २ अक्टोबर १७९२ को बेत्रावती सन्धि अनुसार नेपालले चिनियाँ सम्राटप्रति सम्मान दर्शाउन प्रत्येक पाँच वर्षमा उपहार मिसन पेकिङ जानुपर्ने भयो । विश्वमा आएको राजनीतिक परिवर्तनका कारण यो अवस्था केही वर्ष मात्रै रह्यो । अर्कोतिर दक्षिणी छिमेकी मुलुक भारत पनि सत्ता परिवर्तन भई ब्रिटिस शासनबाट सन् १९४७ मा मुक्त भयो । त्यही सेरोफेरामा नेपालमा पनि राणा शासन अन्त्य भई वि.सं. २००७ पछि राणा, राजा र कांग्रेसका बीचमा मिलीजुली सरकार गठन भयो ।
छिमेकी देशहरूका अतिरिक्त परिवर्तित विश्व वातावरणसामु नेपालले पनि प्रजातान्त्रिक देशको हैसियत कायम गर्नुपर्ने स्थिति आयो । त्यसले आर्थिक, सामाजिक, विकासका अतिरिक्त नयाँ विदेश नीतिको तर्जुमा गर्नु त्यतिबेलाका सरकारका लागि चुनौती बन्न पुग्यो । हरेक मुलुकले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आफू अनुकूलको विदेश नीति अख्यितार गर्छ । त्यसबाट कुनै पनि सभ्य देश भाग्न मिल्दैन । जस अनुसार प्रत्येक राष्ट्रले अन्य देशहरूसँग सम्बन्ध स्थापित र विस्तार गर्नुपर्ने हुन्छ । हाम्रोजस्तो देश जसको उत्तरमा १ अर्ब ४० करोड जनसङ्ख्या भएको र आर्थिक तथा सामरिक दृष्टिले विश्वको तेस्रो शक्ति चीन छ भने दक्षिण, पूर्व र पश्चिमतिर १ अर्ब ३० करोड जनसङ्ख्या भएको उदीयमान शक्ति भारत छ । यी दुवै देशसँगको तालमेलबाट देशको स्वतन्त्रता, सार्वभौमिकता र सुरक्षालाई मध्यनजर राख्दै नेपालले पनि आफ्नो विदेश नीतिको तर्जुमा गर्न आवश्यक हुन्छ ।
सामान्य अर्थमा विदेश नीति भन्नाले ‘एक देशले अर्को देशसँग गर्ने व्यवहारको अध्ययन, व्याख्या र विश्लेषण हो ।’ विदेश नीतिको बुझाइ र आकलनबिना राष्ट्र–राष्ट्रहरूको आपसी सम्बन्ध र व्यवहार बुझ्न कठिन हुन्छ । विदेश नीति ‘राष्ट्रद्वारा निर्वाह गरिने व्यवहार हो । जसले अन्य राष्ट्रको व्यवहारलाई आफू अनुकूल बनाउन मद्दत पु¥याउँछ ।’
विदेश नीति विचारविमर्शद्वारा छानिएका राष्ट्रको स्वार्थहरूको सुव्यवस्थित कथन पनि हो । यसबाट आफ्नो राष्ट्रका प्रमुख स्वार्थबारे अन्य राष्ट्रसँग गरिने सौदाहरूका लागि गरिने वार्ताहरू पनि विदेश नीतिले निर्धारण गर्छ भन्ने होइन । अर्को देशको सरकारसँग गर्ने व्यवहार भन्ने जनाउँछ । जसले मुख्यतया राष्ट्रिय अखण्डताको रक्षा, आर्थिक स्वार्थको संरक्षण र प्रवद्र्धन, राष्ट्रिय सुरक्षाको सुनिश्चितता, राष्ट्रिय सम्मान र शक्तिको संरक्षण कायम गर्नुपर्छ । यसप्रकार राष्ट्रिय स्वार्थ भन्नु नै विदेश नीति निर्माणको मुख्य विषय हो । त्यसैले युक्तिसङ्गत विदेश नीति नै उपयुक्त विदेश नीति हो । यसप्रकारको विदेश नीतिले राष्ट्रलाई हानि र नोक्सानीबाट बचाउन्दै उपलब्लिाई बढावा दिन्छ ।
विदेश नीति सैद्धान्तिक र किताबी मात्रै नभई धरातलीय वास्तविकतामा आधारित हुन्छन् । कुनै पनि राष्ट्रका राष्ट्रिय स्वार्थहरू राजनीति, समय, ठाउँ र बाधा अवरोधबाट प्रभावित हुनु हुँदैन । प्राचीन युनानवासीको अनुभवले ‘राष्ट्रिय स्वार्थको पहिचान र तिनको संरक्षण नै राष्ट्र र व्यक्तिबीचको सम्बन्धको सबैभन्दा महङ्खवपूर्ण कडी हो’ भनेका छन् ।
खासमा विदेश नीति राष्ट्रिय स्वार्थहरूको दीर्घकालीन निरन्तरता हो । यसलाई प्राप्त गर्न राष्ट्रले निरन्तर प्रयास गरिरहनु पर्छ । यद्यपि, राष्ट्रिय स्वार्थका मूल्य र मान्यताहरू समय अनुसार फरक–फरक हुन सक्छन् । कतिपय विद्वान्हरूले राष्ट्रिय स्वार्थलाई अपरिवर्तनीय भनेका छन् । जसमा राष्ट्रको कल्याण, राजनीतिक विश्वास, भौगोलिक अखण्डताको संरक्षण प्रमुख छन् ।
कुनै देशहरूबीच आपसी सम्बन्ध सदैव एकनास रहन सक्दैन । विश्वका विभिन्न भूभागमा घट्ने वा घटेका घटनाले पनि अरु देशहरूमा रहेको पुरानो आपसी सम्बन्धलाई खलबल्याउन सक्छ । देशहरूले आपसी सम्बन्ध विस्तार वा स्थापित गर्दाका बखतका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिसमेतको सुझबुझपूर्ण ज्ञान र आकलन हुन जरुरी हुन्छ । सम्पूर्ण परिस्थितिको मूल्याङ्कन, आकलन र विषयवस्तुको गम्भीरतालाई ध्यान दिई बृहत् अध्ययन गरी राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने विदेश नीति अन्तर्गत पर्छ भने तिनको सफल कार्यान्वयन गर्ने कार्यको जिम्मा परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोग र तिनमा कार्य गर्ने कूटनीतिज्ञहरूको रहन्छ ।

(क्रियटिभ बुक्सले प्रकाशन गरेको प्रा.डा. जनार्दन आचार्यको मेरो ‘आदर्श, मेरो विश्वास’ पुस्तकबाट । पढ्न इच्छुकले ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !