रनवेमा बँदेल आउन नदिन झाडी सफाई
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल आसपासमा रहेको झाडीलाई सफाई गर्न शुरु गरिएको छ ।
विमानस्थलको रनवे नजिकै रहेको झाडीबाट बँदेल निस्केर पटक–पटक जहाजमा ठोकिएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेको अगुवाईमा चार वटै सुरक्षा निकायका प्रतिनिधिले विमानस्थल आसपासमा सरसफाई गरिरहेका छन् ।
मंगलबार मात्रै हुम्ला उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो । जहाजसँग ठोक्किएको तीन वटा बँदेल मरेको थियो । त्यसअघि बुद्ध र यति एयरका जहाजमा पनि बँदेल ठोक्किसकेको छ ।
नजिकको झाडीमा रहेको बँदेल रनवेमै आएर जहाजसँग ठोकिने गरेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एसपीत्रय श्यामकृष्ण अधिकारी, अशोक बम र नरेन्द्र गिरीको उपस्थितिमा बुधबार झाडी सफा गरिएको छ । नेपाली सेनाका ९० जना, सशस्त्र प्रहरी ३५ र नेपाल प्रहरीका २५ जनाले झाडी सफा गरिरहेका छन् । रनवे नजिक रहेको झाडी सफा गरेपछि बँदेल, स्याललगायतका जनावर टाढा भाग्ने विश्वास गरिएको छ ।
रनवेको नजिकै बाक्लो झाडी र खोलासमेत रहेकाले बँदेल, स्याललगायतका जनावर बस्ने गर्दछन् । यी जनावर बेलाबेलामा रनवेमै आएर विमानसँग ठोक्किने गरेका छन् । रनवेमा जहाजसँग जनावर पटक–पटक ठोक्किएपनि अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन ।
नेपालगञ्ज विमानस्थलका फायर सेक्सन प्रमुख सुमित पराजुलीले रनवे नजिकको झाडीबाट पटक–पटक बँदेल निस्केर सुरक्षामा चुनौती दिएकाले झाडी सफा गरिएको बताउनुभयो । उहाँले सकेसम्म सबै झाडी सफा गर्ने बताउनुभयो ।