ब्राउनसुगर लिन हेटौडाबाट रुपैडिहा
नेपालगञ्ज – मानबहादुर रोका लागु औषधी ब्राउनसुगर लिन हेटौडाबाट रुपैडिहा आएको पाइएको छ । रुपैडिया नेपालगञ्जको सीमावर्ती बजार हो ।
रुपैडियाको चकियारोडबाट १५ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर बोकेर नेपालगञ्ज प्रवेश गर्दै गर्दा रोका नाकामा पक्राउ परेका थिए । रोकाको घर भने काभ्रेपलाञ्चोक महादेवस्थान रहेको छ ।
एक किलो स्याउसँगै आलु चिपको कभरभित्र ब्राउनसुगर राखेर रुपैडिहाबाट हिड्दै नेपालगञ्ज प्रवेश गरेका रोकालाई प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउनसुगर फेला परेको थियो । लागु औषधी ब्राउनसुगर शरीर वा सवारी साधनको कुना काप्चामा राखेर ल्याउने गरिएपनि रोकाले भने ढुक्कका साथ हातमा झुण्ड्याएर ल्याइरहेका थिए । रोकाको ल्याउने तरिका हेर्दा उनी सिपालु कारोबारी रहेको प्रहरीको बुझाई रहेको छ । रोकाले यसअघि पनि रुपैडिहाबाट लागु औषधी ब्राउनसुगर हेटौडा पु¥याउने गरेको प्रहरीलाई बताएका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले भन्नुभयो, ‘यसअघि पनि पटक–पटक ब्राउनसुगर लगिरहेकाले रोकामा कन्फिडेन्स देखिन्थ्यो । यसपाली भने उनी प्रहरीबाट बच्न सकेनन् ।’
रोकाले १५ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर ८२ हजार रुपैयामा किनेर ल्याएका थिए । रोकालाई ब्राउनसुगर हेटौडा पु¥याइदिए वापत मोटो रकम मिल्ने गर्दथ्यो । यसपटक १५ ग्राम ६ सय ग्राम ब्राउनसुगर हेटौडा पु¥याएमा १७ हजार भारु दिने सहमति भएको थियो । १७ हजार भारुको लोभमा परेर रोका रुपैडिहासम्म ब्राउनसुगर बोक्न आइपुगेका थिए ।
रोका रुपैडियाको चकियारोडका बारेमा जानकार रहेका छन् । जब की जो पायो त्यही नेपाली चकियारोडभित्र पस्ने आँट गर्न सक्दैनन् । रुपैडिहाको चकियारोडमा दिउँसै लुटपाट हुन सक्छ । चकियारोडको फुकोट गाउँलाई खतरनाक मानिन्छ । यहीबाट ब्राउनसुगरलगायतको अवैध सञ्चालन हुने प्रहरीको भनाई रहेको छ ।
रुपैडिहामा सहजै ब्राउनसुगर पाउने भएकाले टाढा–टाढाबाट कारोबारीहरु त्यहाँ पुग्ने गर्दछन् । बाँकेका छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङलगायतका जिल्लाबाट रुपैडिहामा ब्राउनसुगर लिन जाने कुरालाई नौलो मानिदैन । किनकी, यी ठाउँबाट मोटरसाइकलमा एकै दिनमा रुपैडिहा आएर फर्किन भ्याइन्छ । कतिपय भारतीय कारोबारीले ब्राउनसुगर नेपालगञ्ज र कोहलपुरसम्म नै पु¥याउने गरेको पाइन्छ । हेटौडाबाट बस चढेर ब्राउनसुगर लिन रुपैडिहा आइपुगेको भने पहिलो घटना हो । यद्यपि, ब्राउनसुगर लिने मिसनमा आएका रोका पक्राउ परेका छन् ।
लागु औषधी कारोबारीहरु प्रायः झुट बोल्ने गर्दछन् । रोकाले बताएको प्रारम्भिक कुरालाई आधार मान्ने हो भने लागु औषधीको मुख्य कारोबारी हेटौडामा रहेका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ ।
नेपालगञ्ज नाकामा सधैं भीडभाड हुने भएकाले अवैध भन्दा गर्ने सहज हुने गर्दछ । यद्यपि, त्यहाँ बाह्रैमास लागु औषधी नियन्त्रण ब्यूरोको टोली खटिने गर्दछ । बेला बेलामा प्रहरीले तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गर्ने गर्दछ ।