राजनीतिमा गजेन्द्र हमालको पुनरागमन भएकै हो त ?

बसन्त शर्मा

नेपालगञ्ज – नैतिकताका आधारमा राजीनामा दिएका निवर्तमान उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाललाई गृह जिल्ला बाँकेमा भब्य स्वागत गरिएको छ।
निवर्तमान मन्त्री गजेन्द्र हमालले नैतिकताका आधारमा दिएको राजीनामाले जिल्लामा उनको कद थप बढेको बुधबारको राँझा विमानस्थलमा स्वागतका लागि पुगेको कार्यकर्ताको भीडले पुष्टि गरेको बताउँछन्, कांग्रेस बाँकेका पुराना नेता युवराज शर्मा।
जिल्लामा हमालको यो भब्य स्वागतलाई कांग्रेसमा उनको पुनरागमनका रुपमा समेत विश्लेषन गर्न थालिएको छ। जिल्लामा अस्तित्वमा रहेका दुई समूह कोइराला लिगेसी र संस्थापन पक्ष दुवैलाई हमालको पुनरागमनले चुनौती थपिदिएको छ।
खासगरी संस्थापन पक्ष र इतर संस्थापन पक्ष उनको उपस्थितिलाई संबोधन गर्न अलमलमा परेको देखिन्छ।
गृह जिल्ला फर्किएका नेता हमाललाई स्वागत गर्न उनको निर्वाचन क्षेत्रका कर्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो।
बाँकेमा यति बेला चौधौ महाधिवेशनको तयारी चलिरहेको छ । हमालको स्वागतलाई शक्ति प्रदर्शनका रुपमा समेत बुझिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक मन्त्री परिषद् विस्तार गर्दा सांसद नरहेका बाँके कांग्रेसका नेता हमाल मन्त्री मण्डलमा समेटिएका थिए। मन्त्री पदको सपथ लिए पनि सांसद नभएका व्यक्ति मन्त्री भएको भन्दै उनको नियुक्तिलाई लिएर निकै आलोचना भयो।
प्रधानन्यायाधीशको कोटामा मन्त्री नियुक्त भएको आरोप लागेपछि हमालले नैतिकताको आधारमा मन्त्री भएको तीनदिनमै राजीनामा दिए।
केन्द्रमा कोटाबाट मन्त्री भएको आरोप लागेपनि गृह जिल्ला बाँकेमा भने उनको समर्थनमा कार्यकर्ताहरुले उत्साह देखाए। बुधबार गृह जिल्ला फर्किएका हमाललाई राँझा विमानस्थलमा हजारौंको संख्यामा कार्यकर्ताहरुले स्वागत गरे।
२०५३ साल देखि २०५६ सालसम्म बाँकेको पार्टी सभापतिसमेत भइसकेका हमाललाई कार्यकर्ताहरुले जिल्लामा गरेको स्वागतलाई उनको राजनीतिक पुनरागमन भएको चर्चा हुन थालेको छ।
नेपाली कांग्रेस बाँकेका नेता तथा कार्यकर्ताहरु उनको योगदानको सही मूल्याकंन हुनुपर्ने तर्क राखेका छन्। बाँकेमा उनको राजनीतिक पुनरागमनले जिल्लाको विद्यमान समिकरणमा समेत प्रभाव पर्न सक्ने आकलन गर्न थालिएको छ।
२०६४ को पहिलो संविधान सभामा बाँकेको क्षेत्र नम्बर १ बाट निर्वाचन समेत लडेका हमालको प्रभाव जिल्लामा रहेको पूर्व पार्टी सचिव रवि हमालले दाबी गरे। समरण रहोस्,बाँके कांग्रेसमा स्व‌।सुशील कोइरालापछि यति भब्य स्वागत गरिएको यो पहिलो पटक हो।


error: यो सुविधा उपलब्ध छैन !