पुष्पलाल श्रेष्ठसँगको भेट

वि.सं. २०२४ मा बनारस पुग्नासाथ सबैभन्दा पहिले म आदर्श कलेजमा विज्ञान विषयमा भर्ना भएँ । अध्ययनसँगै विभिन्न राजनीतिक समूहसँग सम्पर्क बढ्दै गयो । त्यतिबेला सबै राजनीतिकर्मीहरूको आश्रयस्थल बनेको थियो, बनारस । हाम्रा अभिभावक थिए, दाङकै रश्मी नेपाली । उनीसँगै पर्वतका बलराम उपाध्याय र पाल्पाका शिव भट्टराईसँग पनि हामीले सम्पर्क बढायौँ ।
बलराम उपाध्याय २०१७ पुस १ गते राजा महेन्द्र शाहले गरेको कूपछि बनारस पुगेका रहेछन् । बनारसमा हाम्रा लागि उनीहरू राम्रा सहयोगी बने । उनीहरूकै सुझावमा कलेज छानियो, शिक्षक र डेराको छनोट गरियो । उनीहरूलाई रामप्रसाद पाण्डेका दाजुभाइले सघाउँथे । पाण्डेका बुबा गरिबीले चौकीदारी गर्न बनारस पुगेका रहेछन् । यी दाजुभाइ पार्टीप्रति आबद्ध थिए । कलेज जाने आउने सिलसिला चलिरहेको थियो । देवी पोखरेल र म सँगै बस्थ्यौँ । कांग्रेसका रामकुमार अनाडी र छविकुमार शर्मा पनि बनारसमै थिए । वामपन्थीतर्फ झुकाव राख्ने दाङका वामदेव आचार्य, प्यूठानका मित्रमणि पोखरेल, खेमराज पण्डित त्यतिबेला चल्ताफिर्ता विद्यार्थी थिए ।
नेपालमा पञ्चायत हुर्किंदै थियो । दलमाथि प्रतिबन्ध थियो, खुला राजनीति प्रतिबन्धित थियो । बनारसमा भने राजनीतिक चलखेल गर्न सहज थियो । बनारसमा पढ्न पुगेका कलिला विद्यार्थीलाई अगुवाहरूले आ–आफ्ना सम्पर्कका पार्टी नेताहरूसँग भेटाउने र आफ्नो कार्यकर्ता बनाउने गर्थे । हाम्रो हकमा भने त्यस्तो केही भएन । हामी राजनीतिक रूपमा स्पष्ट भइसकेकाले कांग्रेसले चासो राख्दैनथ्यो ।
बलराम र वामदेवहरूकै सम्पर्कबाट एक दिन हामी नेता पुष्पलाल श्रेष्ठलाई भेट्न गयौँ । बनारसको गणेश दीक्षित गल्लीमा पुष्पलाल बस्थे । त्यो गल्ली बढीमा चार फिट चौडा हुँदो हो । त्यही साँघुरो गल्लीमा रहेको पार्टी कार्यालयमा हामी पुग्यौँ । पुष्पलाल त्यही कार्यालयमै बस्थे ।
दाङका वामपन्थीहरू सन्देश समूहको नाममा गोलबद्ध थिए । सन्देश दाङबाट निस्किने पत्रिकाको नाम थियो । सन्देश समूहमा आबद्ध भएका अधिकांश विद्यार्थी नेताहरू कालान्तरमा दाङको राजनीतिमा सक्रिय भए । दाङका वामपन्थी भनेर चिनिएका त्यसबखतका युवाहरूमा वामदेव आचार्य, राममणि नेपाली, लोकमणि आचार्य, शोभाराम बस्नेत थिए । उनीहरू दाङको राजनीतिमा हाबी थिए । पढाइ पूरा भएपछि उनीहरू राजनीतिमा सक्रिय भएनन् । विभिन्न पेसा व्यवसाय अँगाल्न पुगे । फलस्वरूप दाङमा चुनाव लड्नसमेत बाहिरबाट नेता ल्याउनुपर्ने स्थिति बन्यो । नेता युवराज ज्ञवाली एक उदाहरण मात्र हुन् । यस्ता धेरै नेता छन्, जो बाहिरबाट आएर दाङको राजनीतिमा स्थापित भए ।
पुष्पलालसँग चिनजानपछि सम्बन्ध विस्तार हुँदै गयो । पुष्पलालप्रति हाम्रो उच्च सम्मान थियो । सहिद गङ्गालाल श्रेष्ठका सहोदर भाइ हुनुका नाताले पनि सायद उनीप्रति सम्मान पलाएको थियो । बनारसमा भेटपछि सम्बन्ध प्रगाढ बन्दै गयो ।
दुई वर्षको बनारस बसाइँमा पुष्पलालमा मैले जे देखेँ, जे पाएँ, त्यस किसिमका चरित्र र स्वभाव अरू नेतामा पाइनँ । आजका नेता मात्र होइन, त्यतिबेला आफूलाई ठूला आदर्शवादी ठान्ने नेताभन्दा पनि उनी भिन्न थिए । उनी बस्ने कोठा निम्न मध्यम वर्ग वा कुनै विद्यार्थीको डेराभन्दा पनि सामान्य खालको थियो । अति सामान्य बसाइँ थियो । हाम्रो भेट पार्टी कार्यालय नजिकैको चिया पसलमा हुन्थ्यो । चिया पसलको बसाइँमा पुष्पलालले गम्भीर राजनीतिको चर्चा गर्दैनथे । त्यस्ता भेटमा अनौपचारिक, गैरराजनीतिक र सामान्य कुरा मात्रै हुन्थे । राजनीतिक विचार विमर्श गर्न भने पार्टी कार्यालय वा कम्पनी बगियामा जानुपथ्र्यो । त्यतिबेला राजनीतिक विषयवस्तु भनेको नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएका मतभिन्नताको सेरोफेरो बन्थे । हामी घन्टौँ छलफल गर्ने गथ्र्यौं ।
२०२५÷२६ को अवस्थाको कुरा गर्ने हो भने कम्युनिस्ट समर्थकहरू छिन्नभिन्न थिए । तुलसीलाल अमात्य बनारस छोडेर गइसकेका थिए । पुष्पलाल बनारसकै पार्टी कार्यालयमा बसेर राजनीति सम्हालेका थिए । उनको आर्थिक स्थिति डामाडोल थियो । कहिलेकाहीँ त भात खान चामलसमेत हुँदैनथ्यो । त्यो बेलामा दाङ जिल्ला कमिटीमा उठेको लेबीले पनि काम चलाउनुपर्ने स्थिति हुन्थ्यो ।
पुष्पलाल खानामा मासुको सौखिन थिए । म र पुष्पलाल रिक्सा चढेर मासु लिन जान्थ्यौँ, मैदागिनको गल्लीमा । त्यहाँ चाहेको मासु पाइन्थ्यो । हाम्रो डेरा गल्लीको वारिपारि थियो । छतबाट समेत कुरा हुन सक्थ्यो । अपर्झट कुनै काम आइपर्दा उनी छतबाटै बोलाउँथे । डेरामा म र देवीसँगै बस्थ्याँै । पुष्पलालले बोलाउँदा म र देवीमध्ये एक जना जान्थ्यौँ । मलाई धेरैजसो विभिन्न विषयमा निस्किने उनका विज्ञप्तिहरूको खेस्रा बनाउन बोलाउँथे । पुष्पलालको अक्षर राम्रो थिएन । मैले खेस्रा उतारिदिन्थेँ । खेस्रा गरेका वक्तव्य दिन प्रेसका कार्यालयसम्म हामी सँगै जान्थ्यौँ । आजतक, दैनिक जागरण, टाइम्स अफ इन्डिया, गाण्डिप दैनिकका कार्यालयमा म थुप्रैपटक पुष्पलालका विज्ञप्ति बोकेर पुगेको छु । देवी र मलाई पार्टीको सक्रिय कार्यकर्ता बनाउने पुष्पलालको चाहना थियो । सक्रिय भएर लागेमा पार्टीको केन्द्रीय सदस्य बनाएर धनगढी र महेन्द्रनगर क्षेत्रमा खटाउँछु भनिरहन्थे । हामी भने दाङ कमिटीले कतै लाग्नु हुँदैन भनेकाले तटस्थ थियौँ ।
हामी बस्दाबस्दै पुष्पलालको सहयोगी बनेर आए, हरि शर्मा । उनी पनि पुष्पलालको समर्थक भएर केही वर्ष महेन्द्रनगर र कैलालीतिर काम गरेका रहेछन् ।
पुष्पलालको पार्टीले खासै गति लिन सकेको थिएन । सङ्गठन विस्तार पनि हुन सकेन । बिस्तारै उनी पार्टी सङ्गठनभन्दा ज्यादा पुस्तक लेखनमा व्यस्त हुन थाले ।
बिस्तारै हामी बनारसमा पुराना हुँदै गयौँ । जति चिनिँदै गयो, त्यति नै हाम्रा गतिविधि पनि बढ्न थाले । पुष्पलालसँग कतिपय कुरामा विमति पनि राख्न थाल्यौँ । कांग्रेससँग मिलेर देशभित्र पञ्चायतविरुद्ध संयुक्त आन्दोलन गर्ने पुष्पलालको धारणा थियो । हामी कांग्रेस पुँजीपतिहरूको पार्टी भएकाले एकता गरेर जानु हुँदैन भन्ने अडानमा थियौँ । दाङको सन्देश समूहको अडान पनि त्यही थियो ।
पुष्पलाललाई भेट्न उनकी पत्नी सहाना प्रधान काठमाडौँबाट छोराछोरी लिएर आइरहन्थिन् । सहानालाई भेट्न हामी पनि जान्थ्यौँ । तर, सहानाले पुष्पलाल वा हामीसँग त्यसबेलासम्म राजनीतिक संवाद गरेको मलाई थाहा छैन । सहाना त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थिन् । त्रिविविको प्राध्यापक भएकाले पनि होला, उनी राजनीतिमा खासै खुल्न चाहँदिनथिन् । छोरा उमेशलाल सानै थिए । हामी गइरहने भएकाले अङ्कल भन्दै पछि लाग्थे ।
एक दिन पुष्पलालले दाङका समकालीन वामपन्थी नेताहरूबारे चर्चा गरे । शिवराज गौतम र नारायणप्रसाद रेग्मीको नाम लिए । उनले गौतमको उच्चस्तरको मूल्याङ्कन गरे । सँगै, आफूलाई समर्थन नगरेकामा गुनासो पनि गरे । पूर्वतिरका वामपन्थी नेताहरूको चर्चा चल्दा भरतमोहन अधिकारी, कमल कोइरालालाई उनी ‘विराटनगरीय ठिटा’ भन्थे । यिनीहरूले काम गर्ने होइनन्, कुरा मात्रै गर्छन् भन्थे । गौतम भने काम गर्ने नेता हो भने । उनले हामीसँगको गफमा बीपी कोइरालाबारे पनि टिप्पणी गरेका थिए । बीपी प्रजातान्त्रिक धारको भए पनि आन्दोलनकारी शक्तिको नेता भएकाले उनीसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलन गर्नुपर्ने धारणा राख्थे । सोही मान्यताका कारणले कतिपयले पुष्पलाललाई कांग्रेसपरस्तको आरोपसमेत लगाए । अन्ततः पार्टीले पुष्पलालकै सिद्धान्त र व्यक्तित्वको बजारीकरण गरी आफूलाई स्थापित गरेको छ । सहानाजीले पुष्पलालबारे असन्तुष्टि पोखिरहन्थिन् । त्यो असन्तुष्टिमा पुष्पलालको राजनीतिले गर्दा उनको पेसा र प्रगतिमा आँच आउँछ कि भन्ने भय झल्किन्थ्यो । पुष्पलाल त्यस्ता कुराबाट विचलित भएको देखिएन । उनी देख्दा पनि राम्रा थिए । होचो, हँसिलो, घुम्रेको कपाल थियो । व्यवहारमा पनि उत्तिकै भरोसालाग्दा थिए ।
कुनै पनि विषयवस्तुबारे उनको प्रस्ट र सुविचारित धारणा आउँथ्यो । हामीलाई द्वन्द्वात्मक भौतिकवाद पढाउँथे । नेपालको कम्युनिस्ट आन्दोलन, राजनीतिक भविष्यबारे वस्तुनिष्ट विचार राख्थे ।
बनारस बस्दाबस्दै पुष्पलाललाई पानको लत लागिसकेको थियो । उनलाई हरेक दिन पान खानुपथ्र्यो । उनी पान असाध्यै मन पराउँथे । चीन भ्रमणका क्रममा पानमा रौँ फेला परेछ । उनी सुनाउँथे, ‘चीनमा पान खान नलेखेको रहेछ ।’
त्यतिबेला पुष्पलालले माओत्सेतुङ र विदेश मन्त्री चाउएनलाईसँग भेट गरेका थिए । चार जना नेपाली नेताको टोली चीन पुगेको रहेछ । त्यतिबेला सोभियत रुस र चीनबीच विवाद थियो । चीनले रुसलाई संशोधनवादी भन्थ्यो । त्यो तानातानमा नेपाली वामपन्थी पनि विभाजित थिए ।
माओलाई भेट्दा पुष्पलालले चाइनिज समर्थित देखाउन खोजेछन् । उनले रसियाको आलोचना पनि गरेछन् । काम नलाग्ने, सिद्धान्तबाट विचलन भयो जस्ता अनेक कुरा राखेको माओले सुनिरहेका थिए । जब माओको बोल्ने पालो आयो, उनले पुष्पलाललाई रातोपिरो हुनेगरी भनेछन्, ‘हेर्नूस् कामरेड ! तपाईं आफ्नो देशका बारेमा मात्रै चिन्ता गर्नूस् । हामी र रुसका बारेमा तपाईंहरूले चिन्ता नलिनूस् । चीन र रुसले गर्ने निर्णयले विश्व राजनीतिमा असर पार्छ । तपाईंको बोलीले केही असर पार्दैन ।’ माओ त्यत्तिमै रोकिएनछन् । उनले थपेछन्, ‘तपाईंहरूले आफ्नो विकास हुने काम गर्नूस् ।’
माओका कुरा सुनेपछि पुष्पलालले नेपालकै माटो सुहाउँदो र नेपालकै परिस्थिति अनुसार काम गर्नुपर्छ भन्ने धारणा राख्न थाले । किसानका कुरा गर्न थाले । हामी विश्वको राजनीतिक विवादमा अल्झिनु हुँदैन भन्न थाले । कसैलाई खुसी पार्नका लागि अति प्रशंसा र अति आलोचना गर्नु हुँदैन भन्न थाले ।
पुष्पलाल व्यवहारमा सरल थिए । हामीजस्ता राजनीतिमा चासो राख्ने युवा विद्यार्थीलाई साह्रै माया गर्थे । हामीले देख्थ्यौँ, उनैको आर्थिक अवस्था राम्रो थिएन । तैपनि, हाम्रो आर्थिक स्थितिबारे चासो लिइरान्थे । एकपटक हामी घर फर्किंदै थियौँ, पुष्पलालले महेन्द्रनगर भएर जान आग्रह गरे । कसैलाई चिट्ठी पठाउनु रहेछ । हामीले चिट्ठी पनि लियौँ । त्यतिखेर इन्डिया धेरै नघुमेकाले महेन्द्रनगरतिर जाने मेसो पाएनौँ । वास्तवमा हामी होलीको बिदामा घर आउँदै थियौँ । बनारस फर्किएपछि हामीले पुष्पलाललाई चिट्ठी पु¥याउन नसकेको जानकारी गरायौँ । चिट्ठी च्यातिसकेका थियाँै । हामीले पुष्पलाललाई ‘माहिला दाइ’ भन्थ्यौँ । पहिला कस्तो निर्देशन हुन्थ्यो भने सम्बन्धित मान्छे फेला प¥यो भने चिट्ठी दिने नत्र भने च्यातिदिने । जब हामी कोइलाबासको बाटो भएर घर फर्किने भयौँ, हामीले चिट्ठी च्यातिदियौँ ।
बीपी कोइराला जेलमुक्त भइसकेपछि एकपटक बनारसमै बीपी र पुष्पलालको संयुक्त टक प्रोग्राम आयोजना गरिएको थियो । नेपाल विद्यार्थी सङ्घले त्यो कार्यक्रम राखेको थियो । नगरपालिकाको टाउन हलमा कार्यक्रम थियो । दुवैले आ–आफ्नो तरिकाले संयुक्त आन्दोलनको कुरा उठाएका थिए । नेपाल र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा खुलेर बोल्नुपर्ने भयो । मिलेरै जानुपर्छ भन्ने कुरा निस्किएन ।
बनारस बसुन्जेल हामी पुष्पलालसँग सधैँजसो भेटिरहन्थ्यौँ । बनारसमै मैले पार्टी सदस्यता पुष्पलालबाट नै लिएको थिएँ । बनारसलाई जिल्ला कमिटीको मान्यता थियो । मसँगै २२÷२४ जनाले सदस्यता लिएका थियौँ । पाल्पा जेल फोडेर भागेका एकदेव आले गोरखपुरको कुनाघाटमा बस्थे । हामी कहिलेकाहीँ पुष्पलालको समाचार लिएर आलेकहाँ जान्थ्यौँ । उनी हामीलाई पूर्णकालीन कार्यकर्ता बनाउन चाहन्थे ।
पुष्पलालले मनमोहन अधिकारीलाई भने त्यति मन पराउँदैनथे । उनी बारम्बार मनमोहनबाट क्रान्ति हुँदैन भनिरहन्थे । मनमोहनको नेकपा माक्र्सवादीलाई पुष्पलाल सुविधाभोगी पार्टी हो भन्थे । पुष्पलालको नेपाल कम्युनिस्ट पार्टी थियो । पूर्वतिरको को–अर्डिनेसन कमिटी थियो । यिनीहरू नक्सलाइटबाट प्रभावित थिए । त्यसैबाट सङ्गठित हुँदै माले बनेको हो । सन्देश समूह पनि पछि मालेमा मिसियो ।
पुष्पलाल स्वयम्ले पनि बाँचुन्जेल अपहेलना र लान्छना सहनु प¥यो । जीवनको अन्तिम समयमा राम्रो उपचारसमेत नपाई भारतको दरभङ्गामै बिते । पछि पुष्पलालको विचार नेपाल कम्युनिस्ट पार्टीको उपयुक्त लाइन साबित भयो । त्यसैको आडमा नेकपा माले, एमाले हुँदै नेकपासम्म बन्यो । पार्टी, नेतृत्व र विचारबीच बारम्बार उतारचढाव आइरहे पनि कुनै बेला गद्दार र कांग्रेसको पुच्छर पुष्पलाल भन्नेहरू अहिले आदर्श नेता मानिरहेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको सरकार हेर्ने पुष्पलालको चाहना भने अधुरै रह्यो ।
पुष्पलाल त्यतिबेला माओसँग प्रभावित थिए । नेपालमा सशस्त्र आन्दोलन सफल हुँदैन भन्ने उनको मान्यता थियो । पुष्पलालकै मान्यता अनुरूप कालान्तरमा पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेस र वाममोर्चा कार्यगत एकतामा आइपुगे । परिणामस्वरूप राजा वीरेन्द्रले जनमतसङ्ग्रहको घोषणा गरेका थिए । २०४६ सालको जनआन्दोलन पनि पुष्पलालको त्यही सहकार्यको सूत्रमा आधारित थियो ।
पुष्पलालले सादगी जीवन बिताए । उनी आफैँ खाना पकाउँथे । बिहान पत्रपत्रिका पढ्ने बानी थियो । जगदम्बा पुस्तकालयमा गएर घन्टौँ पत्रिका पढेर बस्थे । तीमध्ये कतिपय पत्रिका कोठामै ल्याउँथे । पुस्तकालयमा नेपाली पत्रिकाहरू पनि पुग्थे । उनको अङ्ग्रेजी पनि राम्रो थियो । त्यसैले अङ्ग्रेजी पत्रिका खोजी खोजी पढ्ने गर्थे । राम्रोसँग अङ्ग्रेजी बोल्थे ।

(क्रियटिभ बुक्सले प्रकाशन गरेको प्रा.डा. जनार्दन आचार्यको मेरो ‘आदर्श, मेरो विश्वास’ पुस्तकबाट । पढ्न इच्छुकले ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !