मुगु बस दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, चार जनाको बाँकेमा मृत्यु

नेपालगञ्ज – मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ ।
घटनास्थलमै २४ जनाको मृत्यु भएको थियो । ४ जनाको उपचारका लागि लैजाँदै गर्दा र चार जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।
सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।
छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा दुर्घटना भएको हो। चालकसहित ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरीले जानकारी गराएको छ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई हेलिकप्टर र हवाईजहाजमा राखेर उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।
एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !