सेनाले बनाइदियो रामलिला मैदानमा लिंगे पिङ

नेपालगञ्ज – नेपालीको महान पर्व दशैंको महिमासँगै ‘पिङ’ पनि जोडिएर आउँछ । गाउँघर, शहर बजारमा दशैंमा पिङ खेल्ने गरिन्छ ।
बुढापाकाहरु अहिले पनि भन्छन्, ‘दशैंमा पिङ खेल्नु पर्छ । एक दिन खुट्टाले धर्ति छोड्नु पर्छ ।’ पछिल्लो समयमा भने पिङको रौनक हराउँदै गएको छ । गाउँघरतिर पिङ राख्ने गरेपनि शहर बजारमा देख्न पाइदैन ।
यसपटक भने नेपालगञ्जको रामलिला मैदानमा गएर मज्जाले लिंगे पिङ खेल्न पाइने भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले रामलिला मैदानमा लिंगे पिङ बनाई दिएको छ । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले रामलिला मैदानमा पिङ बनाइदिएपछि नेपालगञ्जवासीले पिङ खेल्न पाउने भएका हुन् ।
रामलिला मैदान नेपालगञ्जको ऐतिहासिक एवं धार्मिक स्थल हो । यहाँ डेढ सय वर्षदेखि रामलिला देखाउने गरिएको छ । भारतबाट कलाकार ल्याएर रामलिला देखाइन्छ । रावण बध गरिन्छ । यसलाई नेपालगञ्जका रैथानेले एउटा पर्व कै रुपमा लिन्छन् । यही पवित्रस्थलमा नेपाली सेनाले लिंगे पिङ राखिदिएर धार्मिक काम गरेको छ । झट्ट हेर्दा सानो काम जस्तो लागेपनि यसको महत्व धेरै रहेको छ ।


भैरवप्रसाद गणमा गणपति भएर आएपछि कार्कीले यस्ता सामाजिक कार्य गर्दै आउनु भएको छ । घाँसे मैदान भएर दुई वर्षदेखि प्रतियोगिता हुन नसकेको नेपालगञ्ज रंगशालालाई सरसफाई गरेर फुटबल प्रतियोगिता खेल्ने बनाइदिनु भएका प्रमुख सेनानी कार्कीले यस क्षेत्रकै पवित्रस्थल बागेश्वरी मन्दिरको सरसफाई गरिदिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !