नाकाका सबै प्रहरी ‘चेन्ज’

नेपालगञ्ज – ‘कालापहाडे’सँग पैसा असुली गरेको आरोप लागेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्जसहित १८ जना प्रहरी ‘चेन्ज’ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ जना प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो । जमुनाहामा सई मिनबहादुर विष्टलाई पठाइएको छ । मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा पुगेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिससँग दशैं मान्न घर फर्किदा नाकामा पैसा असुल्ने काम भएपछि बाँके प्रहरीले एक्सन लिएको हो । केही दिन लगातार बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपाने सादा पोशाकमा नाकामा पुगेका थिए । व्यापक जनगुनासो आएपछि नाकामा छड्के जाँच गर्न पुगेका एसपी र डीएसपीले आफ्नै आँखाले कमजोरी देखेपछि जमुनाहाको प्रहरी टोली नै चेन्ज गरिएको हो । जमुनाहा नाकामा डीआइजीको आदेशमा इन्चार्ज पठाउने गरिन्छ ।
बाँके प्रहरीले भन्सारका सईलाई पनि चेन्ज गरेको छ । भन्सारमा इन्चार्ज रहेका अनुप ऐरीलाई तानेर लिला विकलाई पठाइएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले जनगुनासो आएको ठाउँका प्रहरीलाई परिवर्तन गरिएको बताउनुभयो ।
नेपालगञ्ज नाकामा यतिबेला दशै मान्न घर फर्किनेको भीड लाग्ने गरेको छ । मौसमी कामका लागि भारतका विभिन्न शहरमा नेपाली दशैं मान्न घर फर्किरहेका छन् । जनगुनासो पछि प्रहरीले नाकामा कालापहाडेको झोला खोतल्न बन्द गरेको छ । विशेष सूचना आएमात्रै कालापहाडेको झोला खोतल्ने प्रहरीले जनाएको छ ।
जमुनाहा नाकामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि खटिने गर्दछ । नेपाल प्रहरीको देखासिकीमा उनीहरुले पनि पैसा उठाउने गरेको पाइन्छ । सशस्त्र प्रहरीले भने यस विषयमा कुनै एक्सन लिएको छैन । न त भन्सार कर्मचारीमाथि नै निगरानी बढाइएको छ । नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले प्रतिस्पर्धाकै शैलीमा पैसा उठाउने गर्दछन् ।


error: यो सुविधा उपलब्ध छैन !