उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा हात हालाहाल भएको छ ।
कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ । वडाध्यक्ष सिंह आँखा जचाउन अस्पताल जानु भएको छ ।
कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि हात हालाहाल भएको थियो । यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरीव, विपन्न समुदायलाई १२ लाख रुपैया खर्चे अख्तियारी दिएको थियो । त्यो बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार जंगिनु भएको थियो । कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाका बीचमा हात हालाहाल भएको हो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको बताउनुभयो । ‘वडाध्यक्षले कार्यपालिका सदस्यले आफूहरुसँग समन्वय नगरेर अपारदर्शी ढंगबाट बजेट खर्च भएको गुनासो गर्नुभयो । कार्यपालिका सदस्यहरुले पनि वडाध्यक्षले खर्च गर्दा हामीसँग समन्वय गर्दैनन् भन्ने कुरा गरे । विवाद चर्कियो, प्रवक्ता रिजालले भन्नुभयो, कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाका बीचमा हात हालाहाल भयो । हामीले छुट्याइहाल्यौ ।’
बोर्ड बैठकमा मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो ।